विराटनगर– प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गरेका हुन्।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय प्रदेश प्रमुखले दिएका हुन्।
‘प्रदेश नं। १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रमा गठबन्धन भएका कारण प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्दैछ। एमाले र माओवादी दुबैले सरकारको नेतृत्व दाबी गरिरहँदा कसले नेतृत्व गर्ने भन्ने विषय टुङ्गिएको छैन।
यदि भागबन्डामा प्रदेश एमालेको भागमा परे हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन। माओवादीको भागमा परे इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।