काठमाडौं - निर्वाचन सकिएर देश अब नयाँ सरकार गठनको तयारीमा प्रवेश गरेको छ । तर कुनै पनि दलले स्पष्ट बहुमत नल्याउँदा कस्तो सरकार बन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।
यसपटकको निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न असफल रह्यो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख ल्याउने दाबी गरेका थिए । तर तीन लाख पनि ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।
राष्ट्रिय पार्टी बन्न नसके पनि माधव नेपाल अहिले एमाले छाडेका नेताहरूलाई पार्टी प्रवेश गराउने अभियानमा जुटेका छन् । जसमा घनश्याम भुसाल र प्रभु साह पहिलो नम्बरमा परेका छन् । भुसाल सांसद निर्वाचित हुन सकेनन् ।
तर, साह भने स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुन सफल भए । शनिबार मात्रै एमालेले आफ्नो पार्टीको सूचीबाट भुसाल र साहको नाम हटाएको छ । जबकि दुवैले कात्तिकमै पार्टी छाडिसकेका थिए । चुनावताका नै प्रभु साह र माधव नेपालबीच एक किसिमको सहमति भइसकेको बुझिएको छ ।
प्रभु साहलाई आफ्नो पार्टीमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निकै प्रयास गरेका छन् । तर एकचोटि पार्टी छाडिसकेकाले साहले फेरि माओवादी प्रवेश गर्ने इच्छा देखाएका छैनन् । बरु उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा भने अटाउन सक्ने संकेत गरेका छन् ।
नेपाल र साह दुवै रौतहटवासी हुन् । यो निर्वाचनमा पनि दुवैले भित्री गठबन्धन गरेका थिए । उता घनश्याम भुसाल भने केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । विगतमा एमालेमा विवाद हुँदा पनि भुसालले माधव नेपाललाई नै साथ दिएका थिए ।
तर अन्तिममा उनी एमालेमै रहे । एमाले अध्यक्ष केपी ओलीको कोपभाजनको सिकार भएपछि उनी सो पार्टीमा रहन सकेनन् । अन्ततः पार्टी नै छाडे । उनलाई एमालेले उम्मेदवारसमेत बनाएन । नेपाली कम्युनिस्ट नेताहरूमा भुसालको छवि बौद्धिक नेताको छ ।
यदि घनश्याम र प्रभु साहलाई माधव नेपालले एकीकृत समाजवादीमा ल्याउन सकेमा सो पार्टीको संगठन निकै मजबुत हुने विश्लेषण गरिएको छ । किनकि माधव नेपाल संगठन निर्माणमा कुशल नेता हुन् । अहिलेको एमाले पनि नेपालकै नेतृत्वमा संगठित र बलियो भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।