काठमाडौं - प्रतिनिधिसभाको निर्वाचनका क्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘एमालेले प्रत्यक्षमा सय र समानुपातिकमा ५० गरी डेढ सय सिट जित्छ । बहुमतको सरकार बनाउँछ ।’
तर, निर्वाचनको परिणामले ओलीको त्यो दम्भलाई तोडिदिएको छ । जारी मतगणनाअनुसार एमालेले प्रत्यक्षमा ५० सिट पनि नल्याउने देखिएको छ । समानुपालितकमा भने अहिलेकै रेसियोमा मत खसेको हो भने एमालेले ३० सिट कटाउँछ ।
यो चुनावमा ओलीका विश्वासपात्र एकपछि अर्को गरी पराजित हुने संघारमा पुगेका छन् । कोही कोही पराजित पनि भइसकेका छन् । काठमाडौंबाट ईश्वर पोखरेल र राजन भट्टराई पराजित भइसकेका छन् । सर्वेन्द्र खनाल पराजयको डिलमा छन् ।
एमाले महासचिव शंकर पोखरेल जित्ने सम्भावना निकै कम छ । दाङ २ मा माओवादीकी रेखा शर्माको अग्रता छ । मोरङ ३ बाट भानुभक्त ढकाल पराजित हुने निश्चित देखिएको छ । उनी कांग्रेसका सुनिल शर्माभन्दा धेरै मतले पछाडि छन् ।
भक्तपुर २ मा महेश बस्नेतको जित अझै कन्फर्म छैन । कांग्रेसका दुर्लभ थापाले उनलाई पछाडि पारिरहेका छन् । काभ्रे २ मा गोकुल बासकोटा अहिलेसम्म पछि छन् ।
अहिलेकै अनुपातमा मत खसेमा बासकोटा पनि जित्ने सम्भावना छैन । तर, पनि मत गन्न धेरै बाँकी छ । झापा १ बाट ओलीका भित्रिया अग्नि खरेल पराजित हुने निश्चित जस्तै छ ।
खरेललाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १२ हजार मतले पछाडि पारेका छन् । ओलीलाई सधैं राजनीतिमा सहयोग र साथ दिँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि हार्ने भएका छन् । उनलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पछाडि छाडेकी छन् ।
माधव नेपाललाई बीचमै छाडेर ओलीको दौराको फेर समाउन आइपुगेका शेरबहादुर तामाङलाई कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले हराउने भएका छन् । तामाङ बस्नेतभन्दा धेरै मतले पछि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।