काठमाडौं - गत वैशाखको निर्वाचनमा काठमाडौं महानगरपालिकामा दुई उम्मेदवार निकै चर्चामा रहे । कांग्रेस र एमालेका उम्मेदवार भन्दा बालेन्द्र साह बालेन र सुमन सायमी निकै चर्चामा रहे ।
त्यसको कारण थियो, स्वतन्त्र उम्मेदवारी । प्रमुख दलले पुराना उम्मेदवार उठाएपछि काठमाडौं महानगरवासी रुष्ट भएका थिए । जसकारण उनीहरूले फ्रेस अनुहार खोजे ।
जसमा बालेन र सुमन सायमी अग्रपंक्तिमा रहे । बालेनले युवा र नयाँ पुस्ताको मत पाए । सायमीले कोर एरियाको मत बटुले । जसकारण कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर बने ।
त्यतिबेला स्वतन्त्र उठेर १४ हजार मत ल्याएका सुमन सायमी ६ महिनापछि मंसिरमा हुने निर्वाचनमा भने आफ्नो अडानमा बस्न सकेनन् । उनले स्वतन्त्र उम्मेदवारी दिन छाडेर पार्टी खोल्न पुगे । उनी अहिले हाम्रो नेपाल पार्टीका उम्मेदवार हुन् ।
लौरो अभियान लिएर हिँडेका सायमीले पार्टी रोजेपछि कोर एरियावासी रुष्ट देखिएका छन् । पार्टीमै मत हाल्नुपर्दा कांग्रेस, एमाले जस्ता ठूला र बलिया पार्टी भएकै अवस्थामा हाम्रो नेपाल पार्टीलाई किन भोट हाल्ने भन्ने मानसिकताको विकास भएको छ ।
काठमाडौं ८ मा काठमाडौं महानगरपालिका वडा नम्बर १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका वडा नम्बर ४ र ५ पर्छन् । यहाँ एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ, एमालेले शिवसुन्दर राजवैद्य र हाम्रो नेपाल पार्टीका उम्मेदवार सायमीबीच प्रतिस्पर्धा हुने स्थानीयको अनुमान छ । यो क्षेत्रमा एकीकृत समाजवदीको संगठन कमजोर रहेका कारण कांग्रेसको भोटले नै श्रेष्ठलाई जिताउने वा हराउने स्थानीयको भनाइ छ ।
एमालेको मत कतै पनि बाँडिएन भने राजवैद्यको सम्भावना पनि धेरै रहेको बताइन्छ । यदि मत बाँडिएमा श्रेष्ठ, राजवैद्य र सायमीबीच त्रिपक्षीय भिडन्त हुने, चार–पाँच सय मतान्तरले जितहार हुने काठमाडौं ८ का मतदाताको अनुमान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।