काठमाडौं - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा प्रचार प्रसारमा व्यस्त छन् । एमाले अध्यक्ष केपी ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् ।
उनले एकैदिन तीन जिल्लामा पुगेर भाषण गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट छाडेका छैनन् ।
मधेस केन्द्रित दलका शीर्ष नेताहरू पनि जिल्ला जिल्लामै छन् । पछिल्लो चुनावी सभा हेर्दा सबैभन्दा बढी तामझाम एमालेको देखिएको छ । एमालेले चुनावी कमान्डर अध्यक्ष ओलीलाई नै बनाएको छ ।
त्यही भएर ओली हेलिकोप्टर लिएर जिल्ला जिल्ला पुगेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ओली चुनावी कमान्डर बनेर खटिएका थिए । तर उनले जहाँ जहाँ पुगेर भाषण गरेका थिए, ती सबै सहरमा एमाले पराजित भएको थियो । अहिले पनि ओली एक्लै दौडिएका छन् ।
उनले आफूबाहेक अरुलाई प्रचारक बनाएका छैनन् । स्थानीय तहको निर्वाचनका बेला पनि एक्लै हिँडेकाले पार्टीभित्रै उनको आलोचना भएको थियो ।
अहिले पनि उनी एक्लै हेलिकोप्टर लिएर हिँडेका छन् । ओलीले जहाँ जहाँ भाषण गर्दै आएका छन्, ती सबैमा एउटै सुगा रटाई छ । एमालेको साढे तीन वर्षे सरकारका पालामा उल्लेखख्य विकास भएको, आफ्नो सरकारलाई ढालेको, त्यसैले फेरि बहुमत चाहियो भन्दै ओली हिँडेका छन् ।
तर, पाँच वर्षअघिको जस्तो ओली क्रेज अहिले छैन । त्यतिबेला पार्टीइतरका मतदाता र शुभेच्छुक पनि ओलीको प्रशंसा गर्थे । तर अहिले उनको क्रेज पार्टीका क्याडरमा मात्र सीमित भएको छ ।
वाकपटुताका कारण केहीले उनको तारिफ गर्ने गरे पनि संविधान नै च्यातचुत पारेर जंगे शैलीमा सरकार चलाउने गरेको तथा दुई दुईपटक संसद् विघटन गरेकाले ओलीको साख घटेको हो ।
तर पनि ओली एमालेले बहुमत ल्याउँछ भन्न छाड्दैनन् । ०७४ को निर्वाचनमा वाम तालमेलले एउटा जबर्जस्त मनोविज्ञान खडा गरेको थियो र एमालेले राम्रै मत पाएको थियो ।
त्यसमा पनि एमाले र माओवादीबीच एकता हुन्छ भनेर धेरैले दुवै दललाई मत दिएका थिए । तर, अहिले त्यस्तो छैन । एमाले र माओवादीबीच पानी बाराबार मात्र होइन, एमाले आफैं विभाजित भएको छ ।
एकीकृत समाजवादीले पनि एमालेको राम्रै मत काट्ने देखिएको छ । पार्टीमै ओलीले एकलौटी ढंगले टिकट बाँडेपछि असन्तुष्टि बढेको छ । बागी उम्मेदवारले ओली नै हायलकायल भएका छन् ।
स्वतन्त्र उम्मेदवारहरूको देशभर बाढी नै उर्लेको छ । यस्तो अवस्थामा कांग्रेस माओवादीको मात्रै भोट बाँडिन्छ कि एमालेको पनि घट्छ भन्ने चासो सबैतिर देखिएको छ । एमाले आफैंले पनि ४० सिटभन्दा बढी नजितिने आकलन गरेको छ ।
यदि सत्तागठबन्धन एकढिक्का भएर गयो र कांग्रेसमा अन्तर्घात नभएमा एमाले ३० भन्दा कम सिटमै सीमित हुने निश्चित छ । एमालेको साइज कांग्रेस मतदातामा निर्भर रहेको छ । त्यही भएर ओलीले जिल्ला जिल्लामा कांग्रेसका असन्तुष्टलाई फकाउन खोजिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।