काठमाडौं - एमाले अध्यक्ष केपी ओली मनमौजी नेता हुन् । उनलाई मनमा जे लाग्यो त्यो गरिहाल्छन् । बोलिहाल्छन् । दुनियाँले के भन्ला भन्ने उनलाई लाग्दैन ।
त्यसमाथि पार्टीमा उनको आलोचना गर्ने हिम्मत कसैले गर्दैन । जसले उनको विरोध वा आलोचना गर्न खोज्छ, त्यसको राजनीतिक भविष्य नै धरापमा पारिदिन्छन् ।
एक वर्षको अवधिमा उनले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई पाखा लगाए । भीम रावल र घनश्याम भुसाललाई टिकटसमेत दिएनन् । भुसालले पार्टी नै त्यागे ।
रावल पर बसेर ओलीको विरोध गरिरहेका छन् । सोमबार बेलुकासम्म एमालेले चुनावी घोषणापत्र सामान्य ढंगले गर्ने नेताहरूले बताउँदै आएका थिए । ओलीले कसैलाई पनि घोषणापत्र कार्यक्रम कहाँ गर्ने, कसले सञ्चालन गर्ने सुइँकोसमेत दिएका थिएनन् ।
सामान्यतः पार्टी पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने बेला कार्यक्रम सञ्चालन गर्ने वा आफैंले सार्वजनिक गर्ने चलन छ । तर, एमालेमा ओलीबाहेकका पदाधिकारीले घोषणापत्रबारे एक शब्द पनि बोल्न पाएनन् ।
आफूलाई सर्वहारा वर्गको पार्टी भनेर फलाक्ने एमाले नेताहरू ओलीको चमकधमक अगाडि फिक्का देखिए । आफूलाई कम्युनिस्ट पार्टी भन्ने एमालेले पाँच तारे होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्यो । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलाई भाडामा ल्याएर कार्यक्रमको उदघोषिका बनाइयो ।
करोडपति बैंकर अनिलकेशरी शाहलाई लाइभ डिबेटको मोडरेटर बनाइयो । जबकि एमालेका मै हुँ भन्ने नेताहरू मञ्चमा समेत उक्लिन पाएनन् ।
एमालेले घोषणापत्र सार्वजनिक गर्न मात्रै १५ लाखभन्दा बढी खर्च गरेको बताइएको छ । एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम कुनै भव्य फिल्मको शुभमुहूर्त वा प्रिमियरभन्दा कम थिएन ।
जताततै ओलीको डमी पोस्टर राखिएको थियो । कार्यक्रमलाई ग्ल्यामर बनाउन ओलीले कुनै कसर बाँकी राखेका थिएनन् । कार्यक्रममा सुरुमा ६ सय जति मानिस भेला भएका थिए ।
तर जब ओलीले स्मार्ट रुपमा टच प्याडमा हात स्क्यान गरेपछि एमालेको घोषणापत्र स्क्रिन प्लेमा प्रदर्शन हुन थाल्यो, एकछिनमै हल सुनसान हुन पुगेको थियो । कार्यक्रममा कसैलाई चासो थिएन ।
सबैतिरबाट जोडजाड गरेर नारा बनाइएको थियो । लाग्थ्यो, कनै कम्पनीले आफ्नो विज्ञापन बजाइरहेको छ । ओलीलाई लाइभ डिबेटको रहर पूरा गर्नु थियो, अनिलकेशरी शाहलाई आफ्नो गुणगान गाउन लगाएर पूरा गरे । दर्शकदीर्घाबाट एक दुई प्रश्न मात्र लिइयो ।
के एमालेमा युवाले प्रधानमन्त्रीको अवसर पाउँछन् ? भन्ने आशयको प्रश्न सोधेपछि ओलीले प्रश्नकर्तालाई कुरा छोट्याउन आग्रह गरे। जवाफमा ओलीले भने, ‘पार्टीको लिडर हुन सक्नेलाई प्रधानमन्त्री बन्न निषेध गरिएको छैन।
सेन्टिमेन्टल कुराले देश बन्दैन। भावनामा बगेर देश बन्दैन।’ उनी एमालेमा आफूबाहेक अरु प्रधानमन्त्री बन्छ भन्ने कल्पनासमेत गर्न चाहँदैनन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।