काठमाडौं - चुनावको मुखमा प्रमुख दलका शीर्ष नेताहरूको मथिंगल हल्लाउने ‘‘नो नट अगेन’ फेसबुक पेज कसले चलाइरहेको छ ? भन्ने अहिले सर्वत्र चासो छ । सुरुसुरुमा यसलाई कसैले चासो दिएको थिएन ।
तर निर्वाचन आयोगले शीर्ष नेताहरूमाथि लाञ्छना लगाउने र भ्रम फैलाउने भन्दै ‘नो नट अगेन’ पेज बन्द गर्न र नगरे कारबाही गर्ने चेतावनी दियो, त्यसपछि सबैको ध्यान खिचेको छ ।
कात्तिक ११ गते निर्वाचनमा आयोगमा भएको पदाधिकारी छलफलमा समेत यो पेज सञ्चालकबारे चासो व्यक्त भएको भयो । स्वतन्त्र उम्मेदवारदेखि राजावादी समूहहरूले पेज चलाएको हुन सक्ने आशंका प्रकट भएको स्रोतले बतायो ।
तर, यो पेज काठमाडौंमै बस्ने एक युवाले सञ्चालन गरेको बुझिएको छ । ३० वर्षभन्दा कम उमेरका ती युवा को हुन् भन्नेबारे अहिले प्रहरीले तीव्र ढंगले खोजी गरेको छ ।
निर्वाचन आयोगको चेतावनपछि पनि अभियान नरोकिएपछि निर्वाचन आयोगले ‘नो नट अगेन’ नामको फेसबुक पेज र ग्रुप चलाउनेलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
कात्तिक ८ गते ब्युरोलाई आयोगले पत्र लेख्दै निर्वाचनमा उम्मेदवार रहेका विभिन्न दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण भव्य श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने यो पेजलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ ।
आयोगले काटेको पत्रमा यसलाई कसुरको हवाला दिँदै यस्तो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्थासमेत उल्लेख छ । आयोगले पत्र काटेको पाँच दिन बितिसक्दा पनि ब्युरोले यो अभियानको सुरुवातकर्ता पत्ता लगाउन सकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।