काठमाडौं- अभिमानकै कारण केपी शर्मा ओलीले एमालेलाई संकटमा पुर्याएका छन्। २०७४ को संघ र प्रदेशसभा निर्वाचनबाट दुई तिहाइको सत्ताको नेतृत्व गरेका ओली सरकारको पहिलो कार्यकाल पनि पूरा नगरी प्रतिपक्षमा मात्र पुगेनन्, एमालेजस्तो पार्टीलाई आफ्नो निजी सम्पत्तिजस्तो बनाएर एक गुटमा सीमित गरिदिएका छन्।
एमालेलाई निर्माण गर्नका लागि रगत पसिना बगाएका नेताहरु एमाले छैनन् र भएकाहरु पनि निस्क्रिय बनेका छन्। अझै पनि ओलीको अभिमानको चुचुरो भने ढलेको छैन बरु एमाले संकटमा फसेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय आउँदा एमालेको ओरालो यात्रा तीव्र बनेको छ र विभाजनको सिकार बनिरहेको छ।
तत्कालीन नेकपा हुँदा माधव नेपाल समूहसँग मिलेर ओलीको गलत क्रियाकलापको विरोध गरेका नेताहरु भीम रावल र घनश्याम भुसाललाई ओलीले टिकट नदिने निर्णय गरे। एमालेका प्रभावशाली नेताहरु रावल र भुसाललाई टिकट नदिने निधो गरेका ओलीको स्वच्छेचारिताविरुद्ध बोल्न सक्ने नेता सायद अब एमालेमा रहने छैनन्। ओलीले टिकट नदिने चाल पाएपछि एमालेकै प्रभावशाली नेताहरु अमृत बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरे।
घनश्याम भुसालले एमाले परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत एमाले परित्याग गरेको घोषणा गर्दै भनेका छन्, ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’
घनश्याम भुसालजस्तो बौद्धिक नेताले एमाले छोड्नु पक्कै पनि सुखद् होइन। तर, यो परिणाम आउँछ भन्ने कुरामा ओली जानकार थिएनन् भन्न सकिन्न। ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ‚’ उनले लेखेका छन्।
त्यसैगरी यति नै समय खर्चेर एमाले बनाउन मेहनत गरेका नेता भीम रावललाई ओलीले पाखा लगाइदिएका छन्। भीम रावलले पार्टी छोडेको घोषणा त गरेका छैनन्, सम्भवत: ओलीसँगै सम्झौता गर्न उनी पनि तयार छैनन्। रावलको क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई ओलीले उम्मेदवार बनाएका छन्। अछाममा एमालेका सम्पूर्ण कमिटीले नै एमाले परित्याग गरेको घोषणा गर्ने भएको छ।
त्यसैगरी एमालेकै नेतृ गंगा चौधरीले पनि एमाले छोडेर स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन्। ओलीले गंगाको क्षेत्रमा शान्ता चौधरीलाई चुनाव लडाउने भनेपछि गंगाले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
यतिमात्र होइन, कुनै समय ओली निकट मानिएका इटहरीका मेयर द्वारिकालाल चौधरी पनि एमाले परित्याग गर्दै माओवादी प्रवेश गरेका छन्। उनले पनि ओलीको अहंकारलाई दोष लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। एमाले केन्द्रीय कमिटीका सल्लाहकार गंगारा यादवले पनि एमाले परित्याग गरे। यादवले एमाले वैचारिक र सैद्धान्तिक रूपमा विचलनमा परेकाले पार्टी छोडेको घोषणा गरेका हुन् ।
मोरङमा पनि एमालेका करिब २० जनाले पार्टी परित्यागको घोषणा गरेका छन्। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। उनले दिएको राजीनामापत्रमा एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थ अनुकूल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको जनाएका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा खड्कबहादुर खत्रीलाई पाखा लगाउँदै केन्द्रबाट ओलीले सिधै सिफारिसमै नपरेका नेकपा एमालेका नेता डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएपछि चरम असन्तुष्टि सिर्जना भएको छ।
यसरी ओलीको अहंकारको पहाड चुलिँदै गएको छ भने एमाले सकसपूर्ण संकटबाट गुज्रिन बाध्य छ। एमालेकै नेताका अनुसार पार्टी सामूहिक निर्णयमा चल्नुको सट्टा आफूलाई सर्वज्ञानी ठान्ने केपी ओली र मनोगतवादी ढंगले चल्ने शंकर पोखरेलको कार्यशैलीका कारण आन्तरिक अन्तरविरोधमा मात्र फसेको छैन, निकै कमजोर अवस्थामा पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।