धनगढी– नेपाली कांग्रेससंग सम्बद्ध रहि गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो ।
सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमती अनुरुप आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि र प्रदेश सभा दुवै तर्फका उम्मेदवारलाई कारवाही गरिएको जनाइएको छ ।
‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौं,’ काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कारवाहीमा पर्नेमा क्षेत्र नं. २ (ख) का भरतकुमार शाही र उनका समर्थक कमलकुमार विक, क्षेत्र नं. ३ का नविनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेदवार गोविन्दराज जोशी उनका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नं. ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारबाही गरिएको छ । कैलाली क्षेत्र नं. ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।