काठमाडौं– मोरङमा नेकपा एमाले परित्याग गर्नेको लर्को लागेको छ। प्रतिनिधिसभा तथा प्रदेश सभाको टिकट वितरणमा देखिएको एमालेभित्र विद्रोह निम्त्याएको छ। पार्टी निर्णयले असन्तुष्ट बनेकाहरू धमाधम पार्टी छाडेको घोषणा गरिरहेका छन्।
मोरङमा १० बुँदे पक्षधरलाई टिकट दिएको भन्दै अध्यक्ष केपी ओली समूहकै विश्वास पात्रहरूले पार्टी छाडेको घोषणा गरेका हुन्।
एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित चार प्रदेश कमिटी सदस्य तथा अर्का जिल्ला कमिटी सदस्यले पनि पार्टी छाडेको घोषणा गरेका छन्।
बस्नेतसहित प्रदेश कमिटी सदस्यहरू प्रतापकुमार थापा, मधु गुरूङ, राजकुमार बस्नेत र जिल्ला सचिवालय सदस्य गीता सिवाले पनि पार्टी परित्याग गरेका छन्।
क्षेत्र नम्बर ३ ‘१’ मा दीलिपकुमार राई र ३ ‘२’ मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका थिए। ३ ‘१’ मा पथरीका रामकुमार बस्नेत दाबेदार थिए भने ३ ‘२’ मा डाँगीहाटका राजकुमार बस्नेत दाबेदार थिए।
अपमानित भएर पार्टीमा बस्नुभन्दा विद्रोह गर्नु उपयुक्त देखेकोले पार्टी छाडेको उनीहरूले बताएका छन्। उनीहरूले अन्य कार्यकतालाई पनि विद्रोहमा सामेल हुन अपिलसमेत गरेका छन्। एमाले मोरङका पुराना नेता बस्नेत अनेरास्ववियुका उपाध्यक्ष भइसकेका नेता हुन्।
उनी यसअघि शेरधन राई मुख्मन्त्री रहँदा जनसम्पर्क सल्लाहकार थिए। पार्टी परित्याग गर्ने राजकुमार बस्नेत तत्कालीन डाँगीहाट गाविसका अध्यक्ष भइसकेका नेता हुन्।
यसअघि एमालेका जिल्ला सचिव रुपेश खतिवडाले उम्मेदवार चयनमै असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन्।
यस्तै, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारी र अर्का नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन्।
एमालेबाट क्षेत्र नं ५ मा एकल उम्मेदवार सिफारिस भए पनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।