काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउन संस्थापन पार्टी सभापति शेरबहादुरसँग माग गरेको छ। शनिबार काठमाडौंमा गरिएको खबरदारी सभामा शेखर समूहका नेताहरुले संस्थापनले समानुपातिक उम्मेदवार चयन गर्दा बदमासी गरेकाले बन्सूची सच्याउनुपर्ने माग अगाडि सारेका हुन्।
कार्यक्रममा नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न अप्ठेरो पर्नेतर्फ संस्थापन पक्षलाई सचेत गराए। उनले भने, ‘समानुपातिकमा देखाउन मिल्ने मान्छे राख्नुस्। अहिले प्रदेश १ मा राखिएका मान्छे हामी चिन्दैनौं। यस्तो नाम राख्न कसले दियो अधिकार?’
पार्टीमा न्यायोचित टिकट वितरण नभए ४० प्रतिशत भाग हातहाती चाहिने घिमिरेले बताए। ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं ९देउवा० हो। हामी तपाईंकै बाटोमा छौं। कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ। ४० प्रतिशतभन्दा १ प्रतिशत पनि हामीलाई मञ्जुर छैन। अब टुलुटुलु हेरिबस्दैनौं,’ उनले चेतावनी दिए।
सत्तारुढ गठबन्धनको बैठकमा भागबन्डाको हिसाब मिलाएर मात्र कांग्रेसले चुनाव जित्न नसक्ने उनको दाबी छ। घिमिरले पार्टी संस्थापनले पेलिरहेकाले त्यसको प्रतिवाद गर्न पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन सल्लाह दिए।
नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसीले निर्वाचन आयोगले १६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन समय दिएकाले त्यतिबेलासम्म नसच्याए प्रतिवादमा उत्रिइने बताए। उनले भने, ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ। १६ असोजसम्म नसच्याए प्रतिवादमा उत्रन्छौं। समानुपातिक सूची १६ असोजसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार हुनूस्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।