काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो छोरा अनमोल केसीको स्टारडम प्रदीप खड्काले छायाँमा पार्ने डरले ‘प्रेमगीत ३’ लाई रोक्न अनेक हथकण्डा अपनाइएको आशंका गरेका छन् ।
हुन पनि अहिले प्रदीप खड्काको छवि अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । ‘प्रेमगीत ३’ हिन्दीपछि चाइनिज र उर्दू भाषामा डब गरेर चीन र पाकिस्तानमा पनि रिलिज हुने भएको छ ।
यदि यसो भएमा प्रदीप खड्काले नेपालका सबै कलाकारलाई ओझेलमा पार्नेछन् । त्यही भएर भुवन केसी अहिले ‘प्रेमगीत ३’ रोक्न लागिपरेको धेरैको अनुमान छ ।
‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।
चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ ।
चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।
नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उनीहरूले लगाएका छन् ।
निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका छन् ।
उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका छन् ।
तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन् ।
‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।