काठमाडौं - नेपाली कांग्रेसका लागि केही चुनावी क्षेत्र निकै महत्वपूर्ण छन् । ती क्षेत्र उसलाई छाड्नु भनेको चुनावी धक्का लाग्नु जत्तिकै हुनसक्ने देखिएपछि अहिले पाँचदलीय गठबन्धनमा ती निर्वाचन क्षेत्रलाई लिएर माथापच्ची चलिरहेको छ ।
खासगरी कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच दुवै क्षेत्रलाई लिएर रस्साकस्सी देखिएको छ । यी दुई निर्वाचन क्षेत्र हुन् सिन्धुपाल्चोक १ र ललितपुर ३ ।
अघिल्लो निर्वाचनमा वाम तालमेल भएका कारण माओवादीका अग्निप्रसाद सापकोटा र पम्फा भुसालले सिन्धुपाल्चोक र ललितपुर ३ बाट चुनाव जितेका थिए ।
ललितपुर ३ मा त कांग्रेसमा अन्तर्घात भएकै कारण जम्मा साढे ६ सय मतले भुसालले कांग्रेसका मदन अमात्यलाई हराएकी थिइन् । यसपटक कांग्रेसले कुनै पनि हालतमा दुवै क्षेत्र छाड्न नहुने जिल्लाबाटै केन्द्रमा दबाब पुगेको छ ।
सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले केही दिनअघि बालुवाटार पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालाई सिन्धुपाल्चोक १ नछाड्न र छाडे विद्रोह हुने चेतावनी दिइसकेका छन् ।
सिन्धुपाल्चोकमा अहिले माओवादीको मत जम्मा सात हजार मात्र रहेको बताइन्छ । सोही कारण बस्नेत यसपटक आफैं चुनावमा उठ्ने तयारीमा लागेका छन् । यता, ललितपुर ३ को अवस्था पनि ठ्याक्कै त्यही छ ।
ललितपुर ३ मा पर्ने स्थानीय तह कांग्रेसको कब्जामा छ । यो निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाको बहुसंख्यक वडा र गोदावरी नगरपालिकाको १२ र १४ वडा पर्छ । सबै वडामा कांग्रेसले जितेको छ ।
त्यसैले यसपटक जसरी पनि कांग्रेसले नै यो निर्वाचन क्षेत्र लिनुपर्ने केन्द्रीय सदस्य जितजंग बस्नेतले बताए । ‘कांग्रेसले योपटक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए ३० हजारभन्दा बढी मत ल्याएर जित्ने निश्चित छ,’ बस्नेतले भने ।
यससँगै तनहुँ १, झापा १, सोलुखम्बु, जाजरकोट, कालिकोट, गोरखा १, नुवाकोट १ मा पनि कांग्रेसले दाबी गरेको छ । डोटी १ मा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले रहे पनि कांग्रेस नेता वीरबहादुर बलायरले दाबी गरिरहेका छन् ।
रौतहट १ मा माधव नेपाललाई छाडेको खण्डमा कांग्रेसले काठमाडौं २ मा दाबी गर्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।