काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले सम्भवतः आजै प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रणालीअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची पार्ने भएको छ ।
त्यसका लागि दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समितिको बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकले सहमहामन्त्रीहरूले क्लस्टरअनुसार तयार पारेको नामलाई छलफल गरी अन्तिम सूची पारिने भएको छ। कांग्रेसले पार्टीका सहमहामन्त्रीहरूलाई समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिरामी भएपछि सहमहामन्त्रीहरूले जिम्मेवारी पाएका हुन् । आजको बैठकमा महामन्त्री शर्मा भने उपस्थित हुने भएका छन् ।
अर्का महामन्त्री थापा डेंगु लागेकाले उपस्थित नहुने बुझिएको छ । तर, पनि सहमहामन्त्रीहरूले सूची तयार पार्दा दुवै महामन्त्रीसँग छलफल गरेको कांग्रेसका एक नेताले बताए ।
निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ। कांग्रेसमा यसपटक अघिल्लो संसदमा समानुपातिकबाट सांसद बनेकाले मौका नपाउने भएका छन् । त्यसैले यसपटक बन्दसूची तयार पार्न निकै सकस पर्ने भएको छ ।
किनभने गठबन्धनका कारण धेरै नेताले प्रत्यक्षतर्फ मौका नपाउने भएकाले पनि उनीहरूको नाम समानुपातिकतर्फ राखिने भएको छ । कांग्रेसले अहिलेसम्म ८५ सिट पाउने सहमति भएको छ ।
सिन्धुपाल्चोक, ललितपुर, चितवन, दोलखा, नुवाकोट, मकवानपुर, झापा, मोरङ, सुनसरी, भोजपु्रलगायतका जिल्लामा प्रत्यक्षतर्फ टिकट नपाउने केन्द्रीय सदस्य एवं चर्चित नेताहरू समानुपातिकमा पर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।