काठमाडौं- बिहीबार चितवन गएका एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि निकै खनिए । प्रचण्डकै चुनावी कमान्डर यमबहादुर परियारलाई एमाले प्रवेश गराउने चतिवन पुगेका ओलीले आफूलाई प्रचण्डले कोखमा छुरी धसेको आरोप लगाए । उनले भाषणमा भने– ‘मैले अंगालो हालें, तर प्रचण्डले मलाई कोखमा छुरी धसे । प्रचण्ड मेरो राजनीति भष्म पार्न लागिपरेका छन् ।’
ओली एकाएक चितवनमा पुगेर प्रचण्डमाथि खनिएपछि अहिले माओवादी केन्द्रका नेता कार्यकर्ता आगो भएका छन् । सामाजिक सञ्जालमा ओलीलाई प्रचण्डले के के सहयोग गरे भनेर स्मरण गराइरहेका छन् । ओलीलाई प्रचण्डसँग सबैभन्दा ठूलो आरिस प्रधानमन्त्रीको कुर्सीबाट हटाएकोमा रहेको देखिन्छ । जुन ओलीले अहिलेसम्म पचाउन सकेका छैनन् । आफूलाई मन नपर्ने व्यक्तिलाई ओलीले सधैं भित्तामै पुर्याउने गरेका छन् । अहिले प्रचण्डसँग उनी आगो हुनुको कारण पनि आगामी चुनावमा कांग्रेससँग गठबन्धन भएर जाने र त्यसपछि बहुमत ल्याएर सरकार चलाउने हुन् कि भन्ने हो ।
ओली अहिले जुन हाइटमा पुगेका छन्, त्यसमा प्रचण्डको पनि ठूलो हात छ । यदि प्रचण्डले काँध नथापेका भए ओली दुई दुईपटक प्रधानमन्त्री बन्न सक्दैनथे । पहिलो र दोस्रो दुवैचोटि प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डले नै सहयोग गरेका थिए । चुनावमा एमालेसँग प्रचण्डले तालमेल नगरेको भए ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्दैनथे । उनको राजनीति उचाइ बढ्दैनथ्यो । तर, पनि उनी क्रूद्ध हुन छाडेका छैनन् ।
ओलीले भने सधैं हेपिरहे । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका बेला ५५–४५ प्रतिशत भनियो। तर ओलीहठका कारण ६२–३८ प्रतिशत लागू भयो। सहमतिमा ५०–५० कार्यकाल सहमति भनियो। तर, प्रचण्डले अढाई वर्षे तमसुक निसर्त त्यागिदिए। सहमतिमा प्रचण्ड एकल अध्यक्ष भन्ने थियो। तर, पार्टी एकताका निम्ति दोस्रो अध्यक्षमा मञ्जुर भए। तैपनि ओलीले प्रचण्डलाई दोस्रो अध्यक्ष भनेर उडाउनसम्म उडाए ।
आफ्नै अहंका कारण ओलीले नेकपा विघटन गर्न अदालतको सहारा लिए । एमाले र माओवादी ब्यूँताए । एमालेमा एक्लै ढलीमली गरिरहेका ओलीले खासमा प्रचण्डको राजनीति सिध्याउन खोजेका हुन्, तर ओली अहिले आफ्नो राजनीति प्रचण्डले सिध्याउन खोजेको भन्दै बर्बराउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।