काठमाडौं - अहिले देशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । दैनिक चार–पाँच सय संक्रमित अस्पताल पुग्ने गरेका छन् । कोरोना भाइरसभन्दा पनि डेंगुको संक्रमण बढी घातक हुँदै गएको छ ।
देशभर अहिले आठजनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । सरकारी र निजी अस्पतालमा डेंगुका बिरामीको चाप बढी छ । चिकित्सकहरूले ९० प्रतिशत डेंगुका बिरामी सामान्य उपचारपछि निको हुन्छन् भने पनि अहिले डेंगुबाट संक्रमित भएका बिरामी दुई सातासम्म थलिएका छन् ।
तर देशभर डेंगु संक्रमण तीव्र फैलिरहँदा पनि स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्री भूमिगत भएका छन् । अहिले स्वास्थ्यमन्त्री एकीकृत समाजवादीबाट भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी छन् ।
जनता बिरामी भएर छटपटिँदा र डेंगुले प्रकोप लिइरहँदा स्वास्थ्य मन्त्री देखिनु र बालिनुपर्ने हो । तर, अहिलेका स्वास्थ्यमन्त्री र राज्यमन्त्री दुवै देखिएका छैनन् । सुनिएका छैनन् । देशमा डेंगु तीव्र बढ्दा स्वास्थ्य राज्यमन्त्री केसी भने विदेश सयरमा छन् ।
मन्त्री खापुङ भने कहाँ छन्? के गर्दैछन् ? भन्ने जनताले भेउ पाउन सकेका छैनन् । यसअघि स्वास्थ्यमन्त्री विरोध खतिवडा थिए । उनी भने केही सक्रिय देखिएका थिए । तर उनलाई फिर्ता बोलाएर माधवकुमार नेपालले भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाए ।
न उनी केही बोल्छन्, न केही योजना नै अघि सार्छन् । कांग्रेस नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए ।
उनले झन्डै ६ महिना सो मन्त्रालयमा बसेर जिम्मेवारी निभाए । तर, छोटो समयमै मन्त्री श्रेष्ठले सबैले देख्ने र अनुभव हुने गरी काम गरे । श्रेष्ठले कोभिड महामारी न्यूनीकरण गर्न खोपलाई पहिलो प्राथमिकता दिए ।
जसकारण लक्षित वर्गले झन्डै पूर्ण खोप पाउन सफल भए । तर अहिले कम्युनिस्ट स्वास्थ्यमन्त्री छन् । उनी कहीँकतै नदेखिएपछि सामाजिक सञ्जालमा खोजी हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।