काठमाडौं- नेपालमा पछिल्लो समय चिनियाँहरुले एप्समार्फत विभिन्न ठगी धन्धा सञ्चालन गरिरहेका छन्। उनीहरुले चिनियाँहरुले बनाएका विभिन्न आर्थिक ऋण उपलब्ध गराउने एप्सहरुको प्रयोग गरी नागरिकहरुलाई उच्च ब्याजदरमा ऋण उपलब्ध गराउने प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो।
उनीहरुले एप्सहरुमार्फत व्यक्तिका व्यक्तिगत विवरणहरु संकलन गर्ने र पछि त्यसैलाई विवरणलाई दुरुपयोग गरी ठगी गर्ने गरेको खुलेको छ। यसरी एप्समार्फ लिइएको ऋण समयमा उच्च ब्याजदरसहित चुक्ता नगरिएमा चिनियााहरुले नेपाली नागरिकलाई विभिन्न बाहनामा ठगी गर्ने र ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन्।
नेपालमा यसरी ठगी धन्धा सञ्चालनका लागि विभिन्न कल सेन्टर तथा कार्यालयहरुसमेत स्थापना गरेका छन्। यसअघि काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र सिराहलगायतका स्थानाहरुमा यस्ता कार्यालयहरु खोलिएका छन्।
उक्त कार्यालयहरुमा नेपालमा रोजगारीको खोजी गरिरहेका भर्खर कलेज सुरु गरेका युवायुवतीहरुलाई सस्तोमा प्रयोग गरिरहेका छन्। एकातिर उनीहरुलाई गलत धन्धामा लगाइएको छ भने अर्कोतर्फ उनीहरुको श्रम शोषण गर्ने काम गरिएको छ।
व्यक्तिहरुलाई प्रभावित गर्नका लागि उधारो लोन, गो क्यास, गो लोन, रुपैयाँ प्लस, फोकस क्यास, रुपैयाँ फ्याक्ट्री, क्यास कार्ड, पैसा लोन, इजी क्रेडिट, फ्रि क्यास, हेन्डी लोन, रुपैयाँ स्टार, हाई क्यास आदी एप्सहरु सञ्चालनमा छन्।
यी एप्सहरुको आधारमा चिनियाँ ठगीद्वारा ३ हजार देखि ३३ हजार सम्म ३० देखि ५० प्रतिशत रकम ७-१५ दिनभित्रमा दिइने गरेको पाइएको छ। दिनहुँ करिब ६ देखि सात करोडसम्म करिब ५० हजार ग्राहकलाई उपलब्ध गराइँदैछ।
यसमा भारतीय नागरिकहरु पनि ठगीको सिकार भएका छन्। ऋण उपलब्ध गराउन उनीहरुले व्यक्तिको व्यक्तिगत तथ्यहरु जसमा नागरिकता, आधार कार्ड, फोन नम्बर, बैंक खाता, ड्राइभिङ लाइसेन्स लिने गरेका छन्।
उक्त ऋण समयमा चुक्ता गर्न नसकेको अवस्थामा ग्राहकको व्यक्तिगत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, परिवारका सदस्यहरुलाई धम्की दिने, फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने, फोन ह्याक गर्नेलगायतको यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
चिनियाँ ऋणबाट ठगी भएकाहरुले साइबर अपराध महाशाखामा उजुरी दिइएको पनि पाइएको छ। यस्ता गलत तरिकाले आर्थिक आय-आर्जन गरेको पैसा उक्ति पे र विच्याटमार्तफ चीनमा पठाउने गरेका छन्।
यस क्रियाकलापद्वारा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको र सुरक्षा जोखिम रहेको छ। यद्पि यस विषयमा सरकारले भने कुनै कदम चालेको पाइँदैन। एक तथ्यांकका अनुसार करिब ५०० चिनियाँहरु पोखरामा यस धन्धामा सक्रिय छन्। उनीहरुले करिब २५ वटा अवैधानिक कार्यहरु सञ्चालन गरिरहेको पनि पाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।