काठमाडौं । पाँचदलीय गठबन्धनले सिट भागबन्डाका लागि कार्यदल गठन गरेको एक महिना बितिसक्यो । तर, अहिलेसम्म कार्यदलले निर्वाचन क्षेत्र मात्र होइन, भागबन्डाको आधारसमेत पत्ता लगाउन सकेको छैन । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कांग्रेसलाई साइजमा ल्याउने रणनीतिका कारण भागबन्डा नटुंगिएको हो ।
प्रचण्डले कांग्रेसले धेरै भाग खोजेको भन्दै संयुक्त वाममोर्चा बनाएर चुनावमा जाने धम्की दिन थालेका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने धमाधम निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार सिफारिस गर्न लगाएर ठाउँ ओगटिरहेका छन् । यसले गठबन्धनलाई अन्ततः लैजाने भनेको बिग्रहकै बाटोमा हो ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकै सकसमा परेका छन् । पार्टीका नेता डा.शेखर कोइराला पक्षले एक सय सिटभन्दा तल कांग्रेस ओर्लन नसक्ने चेतावनी दिँदै आएका छन् । स्थानीय तहको निर्वाचनको मत परिणाम विश्लेषण गर्दा पनि कांग्रेसले जति धेरै सिट पायो त्यतिमा विजयी हुने अवस्था छ । त्यसैले करिब ९० सिट पाएमा ७५ सिट जित्ने र पाँच वर्षसम्म गठबन्धन टिकाउ पनि हुने अवस्था छ । तर, कांग्रेसलाई धेरै सिट दिँदा आफ्नो इज्जत र प्रतिष्ठा घट्ने भन्दै प्रचण्ड र माधव नेपाल अहिले संयुत्तः वाममोर्चाको धम्की दिन थालेका छन् ।
माओवादी र एकीकृत समाजवादीका उम्मेदवार उठेका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसले आरीको पानी जस्तै मत खसाउने हो । त्यसैले कांग्रेसमा थोरै असन्तुष्टि मात्र देखियो भने ती क्षेत्रमा एमाले उम्मेवारहरूले बाजी मार्ने सम्भावना अत्यधिक छ । तर, प्रचण्ड र माधवमा आ–आफ्नो पार्टीको संगठन मजबुत रहेको घमण्ड छ ।
एमालेले निर्वाचनको बेलासम्म माओवादी र एकीकृत समाजवादीका मतदाता आफ्नो पक्षमा पार्ने रणनीति बनाइसकेको छ । त्यसका लागि एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोडसम्म खर्च गर्ने एमालेको भित्री तयारी रहेको स्रोतले बतायो । यस्तो अवस्थामा प्रचण्ड र माधवको बार्गेनिङ पावर कतिसम्म टिकाउ होला भन्ने प्रश्न उब्जेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।