काठमाडौं । मिटर व्याज र विभिन्न ठगी काण्डमा परेकी तारामैया गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
बुधबार तारालाई प्रहरीले पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । ताराका विषयमा काठमाडौं प्रहरीका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले बुझेर जानकारी दिने बताए ।
ठगी काण्डमा पक्राउ परेकी तारालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार लगेको छ ।
अन्दाजी ५० वर्षीया ताराले अर्कैको घर जग्गालाई अम्बिका रासकोटीसँग बैना गरेर ठगी गरेकी छिन् । सो घर र जग्गाको मूल्य २ करोड ६५ लाख तय गरेको तारा र अम्बिकाबीच भएको तमसुकमा उल्लेख छ ।
ओखलढुंगा स्थायी घर भई काठमाडौंको चाबहिलमा बस्दै आएकी ताराले ठगी गरेको रकमले दरबारमार्गसहितका स्थानमा बिलासी जीवन विताइरहेकी थिएन् । अब प्रहरी खोरमा परेपछि चकित परेकी छिन् ।
काठमाडौंको सीतापाईलास्थित कित्ता नं. २०१ घर जग्गालाई ताराले अम्बिकालाई मेरो हो भनेर २०७७ साल फागुन ९ गते बैनाको कागज गरेकी थिइन् । सो कागज गरे पनि ताराले अम्बिकालाई घर जग्गा पास नगरेर करीव ३ वर्षदेखि पैसा समेत फिर्ता नगरेर दुःख दिँदै आएकी छिन् ।
ताराले अम्बिकासँग १५ लाखको माछापुच्छ्रे बैंकको चेक नं. ००२७३००९५८ बाट रकम निकालेकी थिइन् । ताराको ठगीमा परेकी अन्दाजी ५० वर्षीया अम्बिका उदयपुर जिल्ला स्थायी घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी छिन् ।

ताराले ठगी गरेका करीव १५–२० जना व्यक्तिहरू लामो समयदेखि तनाबमा छन् । तारा पक्राउ परेको थाहा पाएपछि पीडितहरू काठमाडौं प्रहरीमा गएर उजुरी दिने तयारी गरेका छन् ।
बैनाको रकम फिर्ता गर्नुस् वा घर जग्गा पास गर्नुसभन्दा ताराले अम्बिकालाई ‘जे मन लाग्छ त्यही गर, पैसा पनि दिन्न, घरजग्गा पनि दिन्न’ भनेर धम्काउँदै आएकी थिइन् ।
पछि ताराले बैना गरेको जग्गा र घर अर्कैको भएको खुलासा भएपछि १५ लाख बैना गरेकी अम्बिका तनाबमा परेकी छिन् । ताराले अर्कैको घर जग्गा आफ्नो हो भनेर विभिन्न व्यक्तिहरूलाई बैना गरेर ठगी गरेको आरोप छ ।
ताराले प्रहरी प्रशासन, राजनीतिक उच्च तहका नेता, एमाले निकटका एकजना व्यापारी (गण्डकी प्रदेशतिर घर भएका)को संरक्षणमा मिटर व्याज लगाउने, ठगी धन्दा चलाउने जस्ता हर्कत गरेको आरोप पीडितहरूको छ ।

पक्राउ परेकी तारा मिटर व्याज काण्डमा समेत परेकी छिन् । गृहमन्त्री बालकृष्ण खाणले मिटर व्याज लगाएर दुःख दिनेहरूविरुद्ध उजुरी मागेका बेला नामुद मिटर व्याजी तारा पक्राउ परेकी हुन्। काठमाडौं प्रहरीका प्रमुख एसएसपी भरत बोहराले कमाण्ड सम्हाल्नेवित्तिकै ठग, मिटर व्याजीलगायतका अपराध गर्नेहरूविरुद्ध कठोर कदम उठाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।