काठमाडौं - ‘बेटीलाई साइकल’ खरिद काण्डमा मुछिएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् ।
सातमध्ये पाँचवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । मधेस र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने परिवर्तन भएका थिएनन् । तर, अब मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि राजीनामा दिने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिन निर्देशन दिएपछि राउतले मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेका हुन् । कतिपयले निर्वाचन नजिक आउँदै गर्दा यादवको स्टन्ट भएकोसमेत आरोप लगाएका छन् ।
मुख्यमन्त्री राउत भ्रष्टाचारमा मुछिएपछि उनको पार्टीभित्र राजीनामा मागिएको हो । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यसअघि मुख्यमन्त्री कार्यालयमा नै छापासमेत हानेको थियो । साइकल खरिद प्रकरणमा समेत उनको संलग्नता रहेको बताइन्छ ।
उक्त प्रकरणमा समेत अख्तियारले छानविन गरिरहेको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका राउत विभिन्न काण्डमा मुछिँदा पनि जोगिँदै आएका थिए ।
उनलाई हटाउन केपी ओली प्रधानमन्त्री भएकै बेला धेरै प्रयास भएको थियो । तर, उनी पदमा टिकिरहन सफल भएका थिए । तीन महिनाका लागि उपेन्द्र यादवले हाल अर्थमन्त्री रहेका शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने भएका छन् । साह पनि निकै विवादास्पद नेता हुन् ।
उनी मधेस प्रदेशमा मठमन्दिरमा धेरै लगानी गर्ने नेता हुन् । विकासका योजनामा कमिसन कम आउने भएकाले मठमन्दिर, पाटीपौवा, सामुदायिक भवन बनाउँदा धेरै कमिसन आउने भएकाले अर्थमन्त्री साहले त्यसमा लगानी गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।