काठमाडौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको साढे तीन वर्षमै छुट्टीभिन्न भयो । दुवै दलबीच एकता भई नेकपा बनेको थियो ।
अलग अलग पार्टी स्कुलिङ भएका केपी ओली, प्रचण्ड, माधव नेपाल, वामदेव गौतम फलतः एक ठाउँमा बस्न सकेनन् । एमाले विभाजन भयो भने माओवादीका धेरै नेता एमालेमै बसे । एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने तयारी थालेको छ ।
माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने भएका छन् । हात्तीवनस्थित एक घरमा सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएको हो ।
छलफलले दुई पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने सहमतिसमेत गरेको नेताहरूले जनाएका छन् । यी दुई पार्टीबीच एकताको गृहकार्य चलिरहेको छ । त्यसक्रममा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरिसकेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि हालै भएको स्थायी समिति बैठकमा एससँग पार्टी एकताको प्रक्रियाअघि बढिरहेको बताएका थिए ।
छलफलमा माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको बताइएको छ।
गौतम नेकपा ब्युँताउने वा समाजवादी केन्द्र बनाउने कुरामा सहमत भएको र भट्टराईको हकमा केही सर्त उनले राखेको विषयमा दुई नेताहरुका बीचमा छलफल भएको एक नेताले बताए ।
छलफलमा पाँच दलीय गठबन्धन र सिट बाँडफाँटका विषयमा पनि कुरा भएको बताइएको छ। ११ सदस्यीय कार्यदलमा रहेका नेताहरुले कांग्रेसले धेरै सिट मागेको ब्रिफिङ गरेका थिए। मिलेर उम्मेदवारी तय गर्नेबारे सहमति बनाएर जानेबारे प्रचण्ड–माधव सहमत नजिक छन्। यसलाई अब बस्ने बैठकमा अन्तिम रुप दिने तयारी छ।
ओलीको रिसमा प्रचण्ड र माधव नेपालबीच गाला चाटाचाट भए पनि एक वर्षमै दुईबीच सम्बन्ध बिग्रिने धेरैको अनुमान छ । किनभने प्रचण्ड अरुले हस्तक्षेप गरेको स्वीकार नगर्ने नेतामा पर्छन् । त्यसले पनि दुईबीच चाँडै फाटो ल्याउने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।