काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतहबाट उत्पादित विद्युतगृहबाट आज मध्यराति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ ।
कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । 'अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ,' घिसिङले भने ।
आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ ।
यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसत मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।