काठमाडौं - आफ्नो स्वार्थ पूरा गर्न अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्न प्रक्रिया अघि बढाएको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
माओवादी केन्द्र र सो पार्टीका नेता शर्माको लहलहैमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बहकिएको भन्दै महामन्त्री थापा र शर्मा एक ठाउँमा उभिएका हुन् ।
आफ्नै पार्टीका सभापति प्रधानमन्त्री भए पनि सरकारको कामको विषयलाई लिएर सार्वजनिक रूपमा बोल्न पाउनुपर्ने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले निर्णय लिँदा हेक्का राख्नुपर्ने बताए ।
स्थानीय चुनावको पूर्वसन्ध्यामा पार्टीका लागि हानि हुने खालका निर्णय नगर्न उनले सभापति देउवाको ध्यानाकर्षण पनि गराएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापाले गलत निर्णयको भारी सिंगो पार्टीले बोक्न नसक्ने चेतावनी पनि दिए ।
महामन्त्री शर्माले अर्थतन्त्रमा चुनौती बढेका बेला बृहत्तर समन्वय गर्नुको साटो गभर्नर निलम्बनमै पुग्नुपर्ने गम्भीर र बाध्यात्मक विषय के थियो ? भन्दै प्रश्न पनि गरे ।
निर्वाचनअघि सरकारका यस्ता कदमले पार्टीलाई रक्षात्मक स्थितिमा पुर्याएको भन्दै उनीहरूले गभर्नर निलम्बनको निर्णय सच्याउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
गभर्नर निलम्बनको विषयलाई लिएर माओवादीभित्रै पनि गम्भीर विवाद छ । पार्टी नेता वर्षमान पुनले अर्थमन्त्री शर्माको तीव्र आलोचना गरेका छन् ।
स्थानीय निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अघिल्लो दिन बिहीबार सरकारले महालेखाले अनियमिततामा संलग्न भएको यकिन गरेका र ओली सरकारका पालामा सेक्युरिटी प्रेस खरिद र ओम्नी समूहसँग जोडिएका सुनिल पौडेललाई टेलिकमको नेतृत्व सुम्पेको विषयमा पनि महामन्त्री थापा र शर्माले आपत्ति जनाएका थिए ।
स्थानीय निर्वाचनमा पार्टीले जारी गर्ने घोषणापत्रका विषयमा छलफल गर्न बोलाइएको बैठकमा थापा र शर्माले खुलेरै सरकार र सत्ता गठबन्धनको चुनावी तालमेलसम्बन्धी निर्णयका विषयमा धारणा राखेका थिए ।
माओवादी केन्द्रले आफ्नो हैसियतभन्दा बढी दाबी गर्दै आएपछि महामन्त्री थापा असन्तुष्ट छन् । उनले बिहीबार आयोजित एक कार्यक्रममा सहमति भए तालमेल हुने, नभए एक्लाएक्लै चुनावमा जानुपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।