काठमाडौं - आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा नेपाली कांग्रेसका दुई महामन्त्रीको मत बाझिएको छ ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचित महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच मत बाझिएको हो।
महामन्त्री शर्माले पार्टीको हित र आवश्यकताअनुसार चुनावमा गठबन्धन गर्नुपर्ने बताए । उनले अघिल्लो २०७४ को चुनावको मत परिणाम पेस गर्दै गठबन्धन आवश्यक रहेको जिकिर गरे ।
उनले कतै कांग्रेस बलियो र कतै कमजोर रहेकाले गठबन्धन जरुरी रहेको तर्क गरे । कांग्रेसले स्थानीय अवस्था हेरेर गठबन्धन गर्नुपर्ने उनको मत छ ।
तर, अर्का महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताए । उनले कम्युनिस्टहरूसँग गठबन्धन गर्नै नहुने धारणा राखे ।
‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो,’ थापाले भने, ‘अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उनले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगायौं भने कांग्रेस नरहने खतरा हुन्छ ।’
पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा उभिएका छन् । तर संस्थापन इतर समूह कुनै पनि हालतमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा छ । चुनावी गठबन्धनलाई लिएर कांग्रेसको आधिकारिक निर्णय भने आइसकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।