काठमाडौं - ‘बाँदर बाठो भो भने आफ्नै विनाश हुन्छ’ भन्ने नेपाली उखान अहिले माओवादी केन्द्रमा चरितार्थ भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीले माओवादी केन्द्रको संगठन नै ध्वस्त हुने देखिएको छ । चाहिनेभन्दा बढी बाठो बन्दा माओवादीले आफ्नै नेता कार्यकर्ता धेरै गुमाउनुपर्ने अवस्था आएको छ ।
यसअघि एमालेसँग मिल्दा ठूलै ड्यामेज भोगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबाट त्योभन्दा पनि बढी क्षति भोग्नुपर्ने संकेत देखिन थालेको छ ।
कांग्रेससँग मिलेर सरकार चलाएकै बेला वामदेव गौतम, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठको लहलहैमा लागेर प्रचण्ड एमालेसँग मिल्न पुगे । पछि पार्टी पनि एक भो ।
तर, सर्वोच्च अदालतले एकता खारेज गरेपछि माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरिशंकर चौधरी, दावा लामालगायतलाई गुमाउन पुग्यो । ती सबै नेता अहिले एमालेमा आबद्ध छन् ।
एमाले अध्यक्ष केपी ओलीले पूर्वमाओवादीलाई यसरी च्यापेका छन् कि अब प्रचण्डले कुनै पनि हालतमा तिनलाई माओवादीमा ल्याउन सक्ने अवस्था छैन ।
अब फेरि नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, अञ्जना विशुंखेलगायतका नेताले प्रचण्डको साथ छाड्ने देखिएको छ । एमसीसी अनुमोदन गरेको विषयलाई निहुँ बनाएर नारायणकाजी नयाँ पार्टी खोल्ने कि एमालेमा विलय हुने भन्ने आन्तरिक छलफलमा लागेका छन् ।
नारायणकाजी एकता केन्द्रबाट माओवादीमा प्रवेश गरेका हुन् । उनले आफ्ना नेता कार्यकर्तालाई माओवादी छाड्न भित्रभित्रै सर्कुलर गरिसकेका छन् । यस्तो सूचना पाएपछि मंगलबार राति नै प्रचण्ड नारायणकाजीको निवासमा पुगेर छलफल गरेका थिए ।
तर, उनले प्रचण्डलाई भाउ नदिएको बुझिएको छ । सम्भवतः केही दिनभित्रै उनले नयाँ निर्णय गर्ने भएका छन् । तर, प्रचण्ड पक्षले भने नारायणकाजी श्रेष्ठलाई आफ्ना विमति केन्द्रीय कमिटी बैठकमा राख्न आग्रह गरेको छ ।
तर, नारायणकाजी पक्षले अब माओवादी केन्द्रीय कमिटी बैठकसम्म कुर्न नसक्ने स्पष्ट पारेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।