काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोगको एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् ।
आज मंगलवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
भट्टराईले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको दाबी समेत गरेका छन् । एमालेलाई गठबन्धन तोड्न कुनै रुचि नभएको बताउँदै भट्टराईले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको दाबी गरे ।
उनले भने, ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन । सरकारमा जान कुनै रुचि छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी बिल्कुल यो सरकार पूर्ण अवधि चलोस्, यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौं र स्पष्ट गर्न चाहन्छु म नेकपा एमालेको तर्फबाट कि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’
एमालेका अर्का सांसद शेरबहादुर तामाङले सत्तापक्षले संसद् अवरोध गरिरहेको आरोप समेत लगाए । एमालेले संसद चलाउनका लागि सत्तापक्ष र प्रतिपक्ष बीचको वार्ता चाहेको भए पनि सत्तापक्ष वार्ता नगरी पेलेर जाने मनस्थितिमा रहेको आरोप उनले लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।