काठमाडौं - नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ मा पराजित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्रप्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।
यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । जसकारण कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने उनको योजना चौपट भएको छ ।
सर्लाही–४ मा क्रियाशील सदस्यता वितरणमा मन्त्री वीरेन्द्रप्रसाद सिंह र सांसद अमरेशकुमार सिंहबीचको टकराव थियो । कांग्रेसलाई नै भोट दिएकालाई क्रियाशील सदस्यता दिँदा अमरेशले विनाकारण लफडा गरेको आरोप मन्त्री सिंहले लगाउँदै आएका थिए ।
त्यसैले वडा अधिवेशन पनि निर्धारित समयमा भएन । क्षेत्रीय अधिवेशन पनि ढिलो गरी भयो । १३औँ महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकूल राजनीतिक अवस्था सिर्जना गरेका अमरेशकुमार सिंह संघीय संसदमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे ।
उनलाई निर्वाचित गराएपछि विकास निर्माणका काम अगाडि बढ्ने कांग्रेस मतदाताको अपेक्षा थियो । किनकि उनी कांग्रेसमा प्रभाव पार्नसक्ने नेता थिए ।
तर, सांसद बनेपछि उनले मतदाता मात्र होइन, स्थानीय नेता–कार्यकर्तासँग दूरी बढाए । सर्लाही–४ का नेता श्याम कार्की आफ्नै दम्भका कारण सिंह पराजित भएको बताउँछन् ।
‘उहाँले कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसीमा योजना ल्याउनुभयो । ती योजना नाममा मात्र सम्पन्न भए,’ कार्कीले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।