काठमाडौं – अमेरिकी सहयोगको एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने कि नगर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच राजनीतिक लडाइँ देखिएको छ ।
एमसीसीको पक्षमा रहेका डा. भट्टराईले माओवादी अध्यक्ष प्रचण्डले कुरा चपाउने गरेको संकेत गरेका छन् ।
शुक्रबार ट्विटरमार्फत प्रचण्डप्रति राजनीतिक प्रहार गर्दै डा. भट्टराईले चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउने तर्क गरेका छन् ।
प्रचण्डले आफूले एमसीसी पारित गर्ने पत्र नलेखेको स्पष्ट पारेको समाचार ट्विटरमा शेयर गर्दै भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र आफूले एमसीसी पारित गर्न साइन गरेर पत्र पठाएको अभिव्यक्ति दिएपछि शुक्रबार प्रचण्डले त्यस्तो पत्र नलेखेको दाबी गरेका थिए ।
प्रचण्डको स्पष्टीकरणलाई जवाफ दिँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ !’
डा. भट्टराईले अमेरिकी सहयोगको एमसीसी सम्झौता देशको हितमा रहेकाले पारित गरेर कार्यान्वयन गर्नुपर्ने पक्ष लिँदै आएका छन् । उनी अमेरिकी सहयोग निशर्त लिनुपर्ने पक्षमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।