काठमाडौं - झन्डै दुईतिहाइ बहुमतसहित संघीय र सातमध्ये ६ प्रदेश सरकारको नेतृत्व गरेको एमाले आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा दुवैतिर प्रतिपक्षमा सीमित भएको छ ।
एमाले २८ असार ०७८ मा संघीय सरकार गुमाएको थियो । त्यसअघि गण्डकी प्रदेश सरकार २६ वैशाखमा, लुम्बिनी प्रदेश सरकार २७ साउनमा, बाग्मती प्रदेश सरकार १० कात्तिक र प्रदेश १ सरकार १५ कात्तिकमा गुमाउन पुगेको छ ।
प्रदेश १ मा सरकारको नेतृत्वबाट बहिर्गमनसँगै संसद्को ठूलो दल एमाले संघ र प्रदेश दुवैतिर प्रतिपक्षी भूमिकामा सीमित भएको छ ।
गत २६ वैशाखमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सुरु भएको सरकार गुमाउने शृंखला सोमबार प्रदेश १ सम्म पुग्दा केन्द्र र प्रदेशको राजकीय सत्तामा एमालेको उपस्थिति शून्यमा झरेको हो ।
एमाले अब सबैतिर प्रतिपक्षमा सीमित भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने फाइदा पुगेको छ । एमालेका मुख्यमन्त्री भएका प्रदेश १ र बाग्मतीमा एकीकृत समाजवादीका राजेन्द्र राई र राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी र गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले नेतृत्व छाडेको छ । जसअनुसार आज कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । यसरी ६ प्रदेशमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले समान दुई दुई मुख्यमन्त्री पाएका छन् ।
तर कांग्रेसमा भने केही असुन्तुष्टि देखिएको छ । कांग्रेसले प्रदेश १ मा आलोपालोको सहमति हुनुपर्ने माग गर्दै आएको छ । तर, अहिलेसम्म सहमति भइसकेको छैन । बाग्मती प्रदेशमा भने ६ महिनापछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने आन्तरिक सहमति भइसकेको छ । यदि गठबन्धनबीच सहमति पालना भए तीनवटा प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।