काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको सोमवार सुरू भएको स्थायी कमिटीको बैठक सकिएको छ ।
भोलि मंगलवार पुनः बस्ने गरी बैठक टुंगिएको र पार्टीको आगामी सम्मेलनबारे छलफल भए पनि केही निर्णय हुन नसकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महराले स्थायी समिति बैठकमा पार्टीबारे विभिन्न कुरा उठे पनि निष्कर्षमा नपुगेको बताएका छन् । महराले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताएका छन् ।
प्रवक्ता महराले भने, ‘आज स्थायी समितिको बैठक सुरू भयो । खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ । विषय निष्कर्षमा पुगेको छैन । भोलि बिहान ८ बजे फेरि स्थायी समितिको बैठक बस्छ र निर्णय हुन्छ ।’
बैठकमा एजेण्डा प्रवेश भएर छलफल सुरू भएकाले भोलि मंगलबार मात्रै निर्णय हुने प्रवक्ता महराले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ दलीय सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका छन् । गठबन्धनको विषयमा बैठकमा छलफल भए पनि कुनै टुंगो नलगाइएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।