काठमाडौं – छिमेकी देश नेपाल र भारतको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा क्षेत्रमा देखिने गरेका सुरक्षाका चुनौतीको मिलेर सामना गर्ने सहमति जुटेको छ ।
दुबै देशका सुरक्षा निकायका प्रमुखबीच आज मंगलवार भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलमा सीमा क्षेत्रमा विभिन्न नयाँ चुनौती समेत देखिन थालेकाले आपसी सहकार्यमा समस्यालाई निस्तेज पार्ने सहमति भएको छ ।
स्थानीय तहदेखि केन्द्रसम्ममा सूचनाको आदानप्रदानलाई बढाउने, अपराध नियन्त्रणका लागि समयमै सूचना पठाउने, सबै तहका अधिकारीबीच बैठक र छलफललाई बढाउने विषयमा बैठकमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
खुला सीमाका कारण तेस्रो मुलुकका आपराधिक प्रवृत्तिका मानिसहरू नेपाल हुँदै भारत प्रवेश गर्न सक्नेप्रति भारतीय अधिकारीले चिन्ता व्यक्त गरे ।
दुबै देशका सीमा सुरक्षामा खटिएका सुरक्षा बलको पाँचौं कोअर्डिनेसन बैठकको नेतृत्व नेपालबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले गरेका छन् । बैठकको समापन बिहीबार हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।