काठमाडौं - एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) कोे बिहीबार मात्र सांगठनिक संरचना पूर्ण बनेको छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा केन्द्रीय कमिटी ३०१, पोलिटब्युरो ७१ र स्थायी कमिटी सदस्य ३५ जना छन् । केही समयभित्रै पार्टीका भ्रातृसंगठनका संरचना पनि तयार हुने भएको छ ।
एकीकृत समाजवादी गठनका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन छ । एमाले अध्यक्ष केपी ओलीले आफूले कारबाही गरेका १४ सांसदको पद खारेज गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्न माधव नेपालले निकै हण्डर र ठक्कर खाइरहेका छन् । तर, उनको पार्टी सशक्त ढंगले अघि बढाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक देखिएका छन् ।
प्रचण्डले बिहीबार काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रममा माधव नेपाल र झलनाथ खनालको पार्टी बनाउन आफूहरूको कम्ता मिहिनेत नपरेको भन्दै एमाले विभाजनको श्रेय आफूले लिएका छन् ।
प्रचण्डको यो अभिव्यक्तिपछि एमाले सशंकित मात्र भएको छैन, माधव नेपाललाई साथ दिन चाहने नेता कार्यकर्ता अन्योलमा परेका छन् । कतै माधव नेपालले एकीकृत समाजवादीलाई प्रचण्डको माओवादी केन्द्रसँग बिलय गराउने त होइनन् भन्ने आशंका जन्मिएको छ ।
प्रचण्डको स्वभावै हरेक विषय र घटनामा आफ्नो जस लिन खोज्ने छ । कतै न कतै आफ्नो भूमिका जोडिहाल्छन् । एकीकृत समाजवादी गठन गर्न आफ्नो पनि भूमिका रहेको भन्ने प्रचण्डको अभिव्यक्तिले माधव नेपाल निकै अप्ठेरोमा परेका छन् ।
नेपाललाई माया गर्ने र साथ दिन चाहने नेता कार्यकर्ता के गर्ने नगर्ने भन्ने द्विविधामा परेका छन् । त्यसैले अहिले प्रचण्ड माधव नेपालको पार्टी सिध्याउने अभियानमा लागेको टिप्पणी गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।