काठमाडौं - एमाले महासचिव ईश्वर पोखरेलले १०औं महाधिवेशनबाट पुनः केपी ओलीलाई नै अध्यक्ष बन्न सहज हुने गरी प्रस्ताव अघि सारेका छन् ।
पार्टीको विधान महाधिवेशनका लागि उनले तयार पारेको सांगठनिक प्रतिवेदनमा नवौं महाधिवेशनपछि कायम पार्टी विधानमा रहेको ७० वर्षे उमेरहदको व्यवस्थालाई व्याख्या गर्दै उनले ओलीलाई पुनः अध्यक्ष बन्न र पूरा कार्यकाल काम गर्न सजिलो हुने गरी प्रस्ताव अघि सारेका हुन् ।
एमालेले आगामी मंसिरमा पार्टीको १०औं महाधिवेशन गर्दैछ भने आगामी १५–१७ असोजदेखि पहिलो विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनमा पेस गरिने संगठनिक प्रस्तावमा उनले ओलीलाई पुनः अध्यक्षमा ल्याउन सजिलो बनाउने गरी विधानको व्याख्या मात्र गरेका छैनन्, एमालेका तत्कालीन नेता माधव नेपाललाई नवौं महाधिवेशनमा अध्यक्ष बन्ने बाटो खोलिदिएर एमालेले गल्ती गरेकोसमेत प्रतिवेदनमा लेखेका छन् ।
आसन्न १०औं महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्नयोग्य रहेको भन्दै केहीअघि पत्रकार बोलाएर घोषणा गरेका पोखरेलले प्रतिवेदनमा भने एमाले विधानमा रहेको ७० वर्षे उमेरहदको अपूर्ण व्यवस्थालाई थप व्याख्याको प्रस्ताव गरेका छन् ।
एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानको धारा ६५ को उपधारा ३ ले भन्छ, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन उमेरहद ७० वर्ष हुनेछ ।’
विधानको यो धारा एमालेको कार्यकारी पदमा बस्न ७० वर्ष पूरा भएपछि नपाउने हो या ७० लागेपछि नपाउने हो भन्ने विषयमा मौन छ । ७० वर्षपछि कार्यकारी पद त्याग गर्न पर्ने कि नपर्ने भन्ने विषयमा पनि मौन छ ।
तर स्थायी कमिटीले पारित गरेर भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुने प्रतिवेदनमा पोखरेलले भनेका छन्– ‘७० वर्षको उमेरहदलाई ७० वर्ष पूरा नहँुदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ ।’ अध्यक्ष ओली निकट मानिएका नेता शंकर पोखरेललगायतका नेताले यसअघि नै केपी ओली पुनः एकपटक पार्टी अध्यक्ष र प्रधानमनत्री बन्ने घोषणा गरिसकेका छन् ।
तरपार्टीको हालको विधानमा रहेको कार्यकारी पदमा रहन ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था अमूर्त र अन्योलपूर्ण देखिएपछि पोखरेलले कार्यकारी भूमिकामा रहन ७० वर्ष पूरा भएपछि मात्र नपाउने र ७० वर्ष पुग्नै लाग्दा कार्यकारी पदमा पुगेपछि कार्यकाल नसकिएसम्म रहन पाउनेगरी विधानको व्यवस्थामा पमिरार्जन गर्न प्रस्ताव गरेका छन् ।
उनको प्रस्ताव पारित भए केपी ओलीलाई पुनः अध्यक्ष बन्नमात्र होइन, अध्यक्ष बनेपछि अर्को महाधिवेशन नभएसम्मका लागि पदमा रहिरहन बाटो खुल्नेछ । ओली आगामी फागुनमा मात्र ७० वर्ष पूरा भएर ७१ वर्षका लाग्ने छन् । पार्टी महाधिवेशन हुने समय अर्थात् मंसिरमा उनी ७० वर्ष आठ महिनाका मात्र हुनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।