काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने अन्तिम तयारी गरिरहेको छ ।
माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा पठाउने नयाँ मन्त्रीको नामबारे निकट नेतासँग छलफल गर्दैछन् ।
आज बुधवार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक दल सम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । प्रचण्डले भोलि बिहीवार मन्त्रिपरिषद विस्तार हुने समेत बताए ।
सत्तारुढ गठबन्धनले दल सम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन बिहीवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेश फिर्ता नलिँदासम्म सरकारमा सहभागी नहुने अडान लिएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको बताएका छन् ।
सत्तारुढ दलको बैठक प्रधानमन्त्री देउवाको सरकारीनिवास बालुवाटारमा बसेको छ । दलहरूबीच मन्त्रालयको भागवण्डा चलिरहेको छ । माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने देखिएको छ ।
जसमध्ये माओवादीबाट अहिले अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल रहेका छन् ।
माओवादी स्रोतले दिएको जानकारीअनुसार नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, महेश्वर गहतराज, हरि चौधरी, सुदन किराती, अमनलाल मोदी र शशी श्रेष्ठमध्येबाट ३ जना मन्त्री र १ राज्यमन्त्री बन्नेछन् । यीमध्ये कसलाई सरकारमा पठाउने भन्नेबारे अन्तिम निर्णय अध्यक्ष प्रचण्डले गर्ने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।