काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले केही दिनयता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।
नेता बस्नेतले चर्काे अभिव्यक्ति दिन थालेपछि प्रचण्डको बचाउमा वाइसीएल उत्रिएको छ । वाइसीएलले नेता बस्नेतमाथि कडा प्रहार गरेको छ ।
वाइसीएलका सहसंयोजक सुबोध शेर्पालीले बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत प्रहार गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई जोडेर बस्नेतले खेदजनक अभिव्यक्ति दिएको शेर्पालीले दाबी गरेका छन् ।
शेर्पालीले लेखेका छन्, ‘नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेला कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले हाम्रो पार्टीका अध्यक्ष प्रचण्डलाई एमाले प्रवेश गर्न खुला आह्वान गर्नु अत्यन्तै लज्जास्पद र खेदजनक कुरा हो । बस्नेतले प्रचण्डको राजनीतिक भविष्य सुनिश्चित गर्न बकबक गर्नु निकृष्टता मात्रै हो ।’
सहसंयोजक शेर्पालीले एमालेसँग कुनै विचार, सिद्धान्त, विधि, पद्धति र लोकतान्त्रिक चरित्र नभएको जनाउँदै लेखेका छन्, ‘त्यो पार्टी नै अस्तित्व कहिलेसम्म रहन्छ भन्ने विषय नै शंकाको घेरामा छ । प्रचण्ड बा बनेर होइन जनताको सेवक अनि ढुकढुकी बनेर यो स्थानमा आइपुगेका जननेता हुन् ।’
अभिव्यक्तिमा अराजकताले हद नाघे विगतमा जस्तै गुमनाम भएर हिँड्ने अवस्था आउनसक्ने चेतावनी दिँदै शेर्पालीले विचार गरेर मात्रै बोल्न चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।