आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा बादलको हात माथि परेपछि ...

एमालेमा बादलको हात माथि परेपछि ...

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 4.3K
    SHARES

  • एमालेमा बादलको हात माथि परेपछि ...

    काठमाडौं – २०७५ जेठ २ गतेमा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बागमती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्ष समेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् तर उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीवार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा ‘बादल’ लगायत थिए ।

    तर उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री भनेर आसन ग्रहण गराउँदा माओवादी केन्द्रबाट आएका बादललाई बागमती प्रदेश इन्चार्ज भनेर आसन ग्रहण गराइयो ।

    यसले एमाले उपाध्यक्ष शाक्यले पनि अर्का उपाध्यक्ष भीम रावलको नियति भोग्नुपर्ने पक्कापक्कीझैं छ । बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेकी शाक्यले यो विषयलाई विवादको विषय बनाइसकेकी छैनन् तर प्रशिक्षणमा सम्बोधनका क्रममा उनले घुमाउरो पारामा पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै एमाले त्यागेर एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् ।

    आफ्नो सम्बोधनका क्रममा पार्टी अध्यक्ष ओलीले नेपालमाथि चर्काे गालीगलौजमा उत्रिँदै एमालेमा नेपाललाई कुनै ठाउँ नभएको भनाइ राखेका छन् ।

    एमाले काठमाडौंले गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले २०७५ जेठ २ गतेलाई मानेर अघि बढ्नुको विकल्प नरहेको बताएकी थिइन् । ‘यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ गतेमा जो–जो आउँछ, उसैलाई मानेर अगाडि बढौं,’ उनले भनिन् । त्यसभन्दा अघि बढेर उनले भनिन्, ‘विभाजनले कसैको हित गर्दैन, सुदृढ एमाले बनाउन फराकिलो मन बनाएर अघि बढौं ।’

    प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्षको नाम नलिइकन पार्टी नेतृत्व भनेर अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । नवौं महाधिवेशनपछि व्यवस्थित रुपमा वैचारिक प्रशिक्षण नदिँदा पार्टी अराजकतातिर गएको उनको भनाइ रहेको थियो ।

    ‘जब प्रशिक्षण र वैचारिक छलफलको अभाव हुन्छ, पार्टी कमिटी अराजकतातिर जान्छ, विचार शून्य हुन्छ, गुटबन्दी मौलाउँछ,’ उनले भनिन्, ‘हामी अहिले यसैको शिकार भएका छौं, अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समिक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’

    शाक्यले कार्यक्रममा पार्टी जनमतको सम्मान गर्न पनि चुकेको धारणा राखिन् । ‘हामीलाई झण्डै जनताले दुईतिहाइको बहुमत दिएको थियो, केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति रहेको थियो तर अहिले यो स्थिति छैन, पार्टीले जनमतको सम्मान गर्न सकेन । फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नु हुँदैन भन्ने कुरा मनमा राखेनौं, पछि जे–जे पर्छ, पर्छ भन्ने ढंगले सोच्यौं ।’

    शाक्यले स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नुपर्ने समेत बताइन् । शाक्यपछि बोलेका अध्यक्ष ओलीले शाक्यको कतिपय असन्तुष्टिको जवाफ दिएनन् तर माधव नेपाल एमालेका लागि आवश्यक रहेको भनाइमा ओलीले विमति जनाएका छन् ।

    ‘पार्टीमा अब माधवकुमार नेपालको आवश्यक छैन, उनले पार्टीमा गुटबन्दी मात्र गरे,’ ओलीले शाक्यको भनाइप्रति लक्षित गर्दै भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

    पार्टीका वरिष्ठ नेता नेपालले पार्टी सरकारमा हुँदा साढे ३ वर्षसम्म सरकारको पक्षमा एक शब्द नबोलेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । सरकारको विरोधमा प्रतिक्रियावादीभन्दा नेपालले चर्को बोलेको ओलीको आरोप थियो । ‘जहिले पनि रोस्टममा उभिएपछि ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ’ भनेर गीत गाउने, कम्युनिस्टको दुईतिहाइको सरकार छ, ७ मध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो भन्ने ?’ उनले भने, ‘कसको डुंगा डुब्न लाग्यो ?’

    प्रशिक्षण कार्यक्रममा ओलीले नेपाललाई खरानी घसेर तीर्थयात्रामा हिँडेको मान्छे समेत भन्न पछि परेनन् । ‘घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ तर माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ताहरू पार्टीमा फर्किनुस्,’ उनले भने ।

    प्रशिक्षण कार्यक्रममा एमाले महासचिव पोखरेलले राष्ट्रिय हित र जनताका मुद्दामा पार्टी परिचालन हुनुपर्ने बताएका थिए । त्यसका लागि उनले नेता कार्यकर्तालाई जनपरिचालनका रुपमा परिचालनको नीति अघि बढाइने बताएका थिए । ‘अनि मात्र एमालेलाई एमाले जस्तै बनाउन सकिन्छ । एमाले कागजको फूलजस्तो होइन, बासना दिने फूलजस्तै बनाउनुपर्छ । जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झण्डा रहला तर परिवर्तनको बाहक एमाले हुँदैन,’ महासचिव पोखरेलले भने ।

    पोखरेलले नेता कार्यकर्तामा धेरै समस्या रहेको भन्दै कार्यकर्तामा अध्ययन र प्रशिक्षणको पनि कमी भएको बताएका थिए । एमाले स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज बादलले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका थिए ।

    ‘नेकपा एमाले, नेपाली सर्वहाराहरुको पार्टी हो, सारथी हो, श्रमजीवीको पार्टी हो,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:५५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend