काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेमा फेरि चार वर्ष केपी ओलीको बुहार्तन सहनुपर्ने स्थिति देखापरेको छ । हिजो ओलीकै स्वेच्छाचारी र निरंकुश शैलीको विरोध गर्दै आएका दोस्रो पुस्ताका नेताहरूले आत्मसमर्पण गरेपछि ओली अहिले फेरि निर्विकल्प बन्दै गएका छन् ।
एमाले विभाजन हुँदा पनि ओलीको शक्ति घटेको छैन । यदि दोस्रो पुस्ताका १० नेताले ओलीसँग आत्मसमर्पण नगरेको भए उनको राजनीतिक भविष्य यसपटक नै सकिने थियो ।
तर, त्यस्तो भएन । भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहरा, युवराज ज्ञवालीले माधवकुमार नेपालको साथ छाडेपछि १०औं महाधिवेशनमा पनि ओली नै अध्यक्ष निर्वाचित हुने देखिएको छ ।
किनभने एमालेका दोस्रो तहका नेतामा ओलीलाई टक्कर दिने क्षमता छैन । यति टक्कर दिने क्षमता भएको भए माधव नेपाललाई साथ दिएर एमालेको ठूलो हिस्सा लिएर गई फेरि पछि पार्टी एकता गर्न सकिन्थ्यो ।
पहिले वामदेव गौतमले पनि गरेका थिए । नेपाली कांग्रेस विभाजन गरी कांग्रेस प्रजातान्त्रिक बनाएका शेरबहादुर देउवा अहिले कांग्रेसकै सभापति छन् । प्रधानमन्त्री बनेका छन् । तर, भीम रावल, योगेश भट्टराईहरू डराए ।
१०औं महाधिवेशनमा ओली ६९ वर्ष आठ महिना पुग्छन् । एमालेको विधानअनुसार ७० वर्षसम्म कार्यकारी पदमा दाबी गर्न मिल्छ । एमालेको महाधिवेशन मंसिरमै ओलीले गर्न मरिहत्ते गर्नुको पछाडि फेरि पनि चार वर्ष अध्यक्ष बन्न हो भन्ने भीम रावल, योगेश भट्टराईलगायतका युवा नेताले नबुझेका होइनन् । तर, उनीहरूमा ओलीलाई टक्कर दिएर नेतृत्व हत्याउने ह्याउ भने देखिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।