काठमाडौँ - आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । संसद् बैठक सुरु हुनुअघि सबै दलले आफ्ना सांसदहरूलाई काठमाडौं बोलाएको छ ।
नेपाली कांग्रेसले मंगलबार नै संसदीय दलको बैठक राखेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएका थिए । संसद् अधिवेशनको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसद्मा एमालेले खेल्ने भूमिकाबारे जानकारी गराउने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको छ । पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो ।
हिजो मंगलबार मात्रै एमाले अध्यक्ष ओलीले पोखरामा सभामुखविरुद्ध कडा टिप्पणी गरेका थिए । आफ्नो पार्टी विभाजन गर्न सभामुखको भूमिका महत्वपूर्ण भएको एमाले निष्कर्ष छ ।
त्यसैले यो विषयलाई लिएर एमालेले संसद्मा कडा रूपमा प्रस्तुत हुने संकेत यसअघि नै दिइसकेको छ । दिउँसो ४ बजे सुरु हुने संसद्को अधिवेशनमा एमालेले आफ्नो तागत सभामुख सापकोटालाई देखाउने बुझिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।