काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय गोप्य राखिएको छ ।
मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।
शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाई आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।
नवनियुक्त मन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुचि देखाएकी थिइन् ।
मन्त्री भुसालले यसअघि नै शाक्यलाई बोलाएर विकल्पको विषयमा छलफल समेत गरेकी थिइन् । मन्त्रीले नै प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई ल्याउन चाहेपछि कार्यकारी अधिकृत शाक्यले सार्वजनिक रुपमा सम्मानजनक रुपमा अन्यत्र पठाए आफू जान तयार भएको अभिव्यक्ति दिएका थिए ।
मन्त्रालय स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रुपमा सम्भवतः बुधवार कार्यभार सम्हाल्दै छन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र दिन बाँकी रहेको छ ।
प्राधिकरण स्रोतका अनुसार हालका कार्यकारी प्रमुख शाक्यले मंगलवार प्राधिकरणमा पुगेर विभागीय प्रमुख लगायतसँग भेटघाट गरी बिदा लिएका छन् । उनले सरकारले सम्मानजनक रुपमा आफूलाई अन्य ठाउँमा पठाउन चाहेकाले आफू जान तयार भएको निकटस्थसँग बताएका छन् ।
प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्य गरेसँगै चर्चामा आएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहोर्याउनुपर्ने चर्को दबाबबीच पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोहोर्याएको थिएन । उनको कार्यकाल नदोहोर्याएको भन्दै ओली सरकारको कडा आलोचना समेत भएको थियो ।
घिसिङले २०७७ भदौमा ४ वर्षे कार्यकाल सम्पन्न गरेर प्राधिकरणबाट बाहिरिएलगत्तै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अर्थ निर्देशनालयका प्रमुख लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । २ महिनापछि शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरण फिर्ता बोलाएर गत कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।
ओली नेतृत्वको सरकारले गत वर्ष माघ २६ गते शाक्यलाई ४ वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।