काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले मरिहत्ते गरेपछि अध्यक्ष प्रचण्डसँग झगडा परेको चर्चा छ ।
प्रचण्ड र नारायणकाजीबीच झगडा परेपछि माओवादीले सरकारमा जाने मन्त्रीको टुंगो लगाउन नसकेको माओवादी स्रोतले जनाएको छ ।
प्रचण्ड र नारायणकाजीको विवाद समाधान नहुने देखिएपछि दुबै नेता नेकपा एमाले नेता माधवकुमार नेपालको शरणमा पुगेका छन् । दुबै नेताले विवाद मिलाइदिन नेपालसँग आग्रह गरेका स्रोतले जनाएको छ ।
मंगलवार बिहान प्रचण्ड र श्रेष्ठले कोटेश्वरमा नेपाललाई भेटेर मन्त्री छान्ने विवाद मिलाइदिन आग्रह गरे । पछिल्लोसमय नेता नेपाल माओवादीसँग नजिक रहेका छन् । एमालेभित्र देखिएको विवाद मिलाउन नसकिरहेका नेता नेपाल माओवादी विवाद मिलाउन बीचमा परेका छन् ।
प्रवक्ता श्रेष्ठ जनयुद्धकालीन माओवादी नभएकाले उनलाई सरकारमा जान दिन नहुने जनयुद्ध लडेका माओवादीले मिसन बनाएका छन् । पूर्व सभामुख कृष्णबहादुर महरा जनयुद्ध लडेकाले उनकै नेतृत्वमा सरकारमा जानुपर्ने मत माओवादीभित्र देखिएको छ, जसको मारमा परेका छन्, नारायणकाजी श्रेष्ठ ।
देउवा सरकारमा श्रेष्ठले उपप्रधानमन्त्रीसहित परराष्ट्र वा शिक्षा मन्त्रालयको जिम्मेवारी चाहेका छन् । तर श्रेष्ठलाई सरकारमा पठाउने कि नपठाउने भन्नेमै माओवादीभित्र विवाद छ । यसअघि माओवादीले जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाइसकेको छ । सरकारमा जान प्रचण्डनिकट मानिने नेता हरिबोल गजुरेल समेत इच्छुक देखिएका छन् ।
यसअघि प्रचण्डले आफ्ना पार्टीका सबै ४९ सांसदले मन्त्री बन्न खोजेपछि तनाव भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।