काठमाडौं - प्रधानमन्त्री बनेको २० दिन बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
अहिलेसम्म कांग्रेसबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रका दुई मन्त्री मात्र सरकारमा छन् ।
गठबन्धन सरकार भएकाले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको कांग्रेस, माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् ।
आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी थियो । तर, गठबन्धन दलबाट मन्त्री बन्नेको सूची अझै आउन सकेको छैन ।
आजै माओवादी केन्द्र र जसपाले मन्त्री बन्नेको सूची बुझाउने बताइएको थियो । मन्त्री टुंगो लगाउन बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो ३ बजेका लागि पार्टीको मुख्यालय पेरिसडाँडामा डाकिएको बैठक अकस्मात स्थगित भएको हो ।
माओवादी केन्द्रबाट सातजना मन्त्री हुँदैछन् । जसमध्ये अहिले जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । अब पाँच मन्त्रीमा को को जाने भन्ने टुंगो लागिसकेको छैन ।
यसअघि नारायणकाजी श्रेष्ठ, सुदन किराँती, देवेन्द्र पौडेल मन्त्री बन्ने सूचीमा परेका थिए । तर, माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई मन्त्री नबनाउन पुष्पकमल दाहाल प्रचण्डमाथि निकै ठूलो दबाब परेको बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवा पनि श्रेष्ठलाई मन्त्री बनाउन इच्छुक छैनन् । पटक पटक मन्त्री बनेको र अस्थिर नेताका रूपमा परिचय बनाएकाले पनि श्रेष्ठलाई बालुवाटारले रातोबत्ती देखाएको बताइन्छ ।
यदि श्रेष्ठ मन्त्री नबनेमा अहिलेका अर्थमन्त्री शर्माले नै माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्नेछन् । त्यसैले पनि माओवादीबाटै उनलाई मन्त्री नबनाउन दबाब परेको बुझिएको छ । श्रेष्ठ दुई वर्षअघिदेखि मन्त्री बन्ने दौडमा थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।