काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा नातावाद, कृपावादको अवसर समय–समयमा देखिँदै आएको छ ।
छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउनु, बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाउनु, सचिवालयमा छोरी गंगा दाहाललाई राख्नु र अन्य नियुक्तिमा समेत भाइदेखि ज्वाइँसम्मलाई प्रचण्डले अवसर दिँदै आएका छन् ।
प्रचण्डको उक्साहटमा युद्धमा होमिएका, घाइते, अपाङ्ग भएका, सहिद परिवार अहिले पछुताइरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बुहारी बिनालाई खानेपानी मन्त्री बनाएका प्रचण्डले फेरि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि मन्त्री बनाउनसक्ने चर्चा थियो ।
अध्यक्ष प्रचण्डले नै माओवादीका ४९ सांसदले नै आफूलाई मन्त्री बनाउन दबाब दिएर तनाव भइरहेको बताएका थिए । जसमा बुहारी बिना मगर पनि पर्छिन् । तर यसपालि प्रचण्डले बुहारीलाई मन्त्री बनाउन नपाउने भएका छन् ।
मन्त्री बन्नेहरूको लिस्टबाट प्रचण्डले बुहारी बिना मगरको नाम काटेका छन् । प्रचण्डले बिनाको नाम किन काटे ? यो थाहा पाउनुअघि माओवादीबाट को–को बन्न सक्छन् भन्ने जानिराखौ ।
माओवादी केन्द्रबाट सरकारमा जाने नेताको नाम करीब–करीब टुंगो लागेको छ । यसअघि माओवादीबाट अर्थमन्त्रीमा टोपबहादुर रायमाझी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा पम्फा भुसाल नियुक्त भइसकेकी छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशगत हिसाबमा मन्त्री बनाउनेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको स्रोतले जनाएको छ । भागबण्डाअनुसार प्रधानमन्त्रीले माओवादीबाट अब ४–५ जना मन्त्री थप्ने भएका छन् ।
माओवादी केन्द्रबाट मन्त्री बन्न अहिले खुमलटार धाउनेको पनि भीड बढे पनि प्रचण्डले कसैलाई आश्वासन भने दिएका छैनन् ।
माओवादीले अहिलेको सरकारमा ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्येबाटै मन्त्री बनाउने कार्यविधि बनाएको छ । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य समेत भइरहेको छ ।
चर्चाअनुसार माओवादीबाट देवेन्द्र पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । हितबहादुर तामाङलाई बागमती प्रदेशको तर्फबाट मन्त्री बनाउन लागिएको जनाइएको छ ।
राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी रहेको छ । श्रेष्ठ सरकारमा सहभागी भएमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् तर उनी सरकारमा जान आकर्षक मन्त्रालय चाहिने छ ।
१ नम्बर प्रदेशको भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना देखिएको छ । दलितको कोटाबाट बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी रहेको छ ।
बुहारी बिना मगर यसअघि नै ओली सरकारमा मन्त्री बनिसकेकाले उनको नाम काटिएको स्रोतले जनाएको छ । बिना मगर सुदूपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने भएकाले प्रदेशभित्रै उनीप्रति असन्तुष्टि छ ।
सुदूरपश्चिमबाट हाल प्रतिनिधि सभामा बिना मगर र राष्ट्रिय सभामा हरि चौधरी ‘उत्सब’ सांसद रहेका छन् । भागबण्डा मिलेमा यसपालि चौधरीलाई मन्त्री बनाएर आफू सुदूरपश्चिम प्रदेशमा पार्टी अध्यक्ष बन्ने रणनीति बिना मगरले बनाएको माओवादी स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।