काठमाडौं – नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका ४ पूर्व माओवादी नेताहरुले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
गत चैत २६ गतेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका छन् ।
आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।
पूर्व माओवादीका ४ जनाले दायर गरेको रिटको पेशी साउन १४ गते बिहीवारका लागि तोकिएको छ ।
सांसदको पुनर्बहालीको माग गर्दै दायर रिटमा पूर्व माओवादी नेता टोपबहादुर रायमाझीले आफू एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको दाबी समेत गरेका छन् । एमाले पार्टीको सदस्यता नलिएको समेत रायमाझीको दाबी छ ।
फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिता दिँदै नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि रायमाझी एमालेमा रहेका थिए । नेता रायमाझीले एमालेमै रहने निर्णय गरेसँगै माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफ समेत नदिएपछि माओवादी केन्द्रले रायमाझीलाई पार्टीबाट र सांसद पदबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयमा गराएको थियो । माओवादी केन्द्रबाट निर्वाचित रायमाझीलाई कारवाही गरेसँगै चैत २६ गतेमा संसद सचिवालयले उनलाई सांसद पदबाट हटाएको थियो ।
रायमाझीले माओवादी केन्द्रले आफूलाई कुनै स्पष्टीकरण नसोधेको र सफाईको मौका पनि नदिएको दाबी गर्दै सर्वोेच्चमा रिट दर्ता गराएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।