काठमाडौं - १४औं महाधिवेशन नजिकिँदै जाँदा बारा जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणबारे क्रियाशील सदस्यता छानबिन समिति छलफलमै प्रवेश गरेको छैन ।
जबकि साउन १२ गतेदेखि वडा तहको अधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेसले गठन गरेको छानबिन समितिले सप्तरी र बाराबाहेक ७५ जिल्लाकै क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद करिब करिब टुंगोमा लगाइसकेको छ ।
तर, दुई जिल्लाबारे अहिलेसम्म कुनै छलफल हुन सकेको छैन । आफ्नो जिल्लाका क्रियाशीलबारे कुनै टुंगो लगाउन नसकेपछि बाराका कांग्रेस जिल्ला नेताहरू कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसेका छन् ।
बिहीबारदेखि बारा कांग्रेस सभापति जयचन्द्र चौरासिया, बारा क्षेत्र नम्बर १ का सभापति तथा सिम्रौनगढ नगरपालिका प्रमुखसमेत रहेका विजयशंकर यादव, बारा क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादवसहितका नेता धर्नामा बसेका हुन् । उनीहरूले अविलम्ब बारा जिल्लाको नयाँ र पुराना क्रियाशील सदस्यताबारे पार्टीले निर्णय गर्नुपर्ने माग गर्दै धर्ना दिन थालेका हुन् ।
‘१४ औं महाधिवेशनको क्रियाशील सदस्यबारे बाराको विषयमा समिति छलफलमै प्रवेश गरेको छैन । ११ देखि १२ हजार क्रियाशील सदस्यको संख्या वडा, गाउँ, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुगिसकेको छ । केही त्रुटि भए सम्बोधन गर्नुपर्यो, नत्र टुंगो लगाउनुपर्यो,’ बारा १ का क्षेत्रीय सभापति यादवले भने । उनले रीतपूर्वक फारम भरेर बुझाएका क्रियाशील सदस्यतामा छानबिन समितिले पूर्वाग्राही सोच राखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘आज पार्टीको पदाधिकारी बैठक बस्दैछ । सोही बैठकले बारा जिल्लाको क्रियाशील सदस्यता वितरण र नवीकरणबारे निर्णय गरोस्,’ यादवले भने । उनले ७५ वटा जिल्लामा टुंगिसके पनि बारा जिल्लाबारे विवादित छ कि छैन भन्ने केही थाहा नभएको पनि बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।