काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा विवाद समाधानका लागि प्रयास भइरहेका बेला नेता माधवकुमार नेपाल भने सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रमाइरहेका छन् ।
नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका छन् । प्रचण्डले सत्तारुढ गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनका लागि आफ्नो नेतृत्वका उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन् । यसबारे प्रचण्डले सत्तारुढ गठबन्धनभित्रका सबै नेतालाई सहमत गराइरहेका छन् ।
अध्यक्ष प्रचण्ड समेत रहेको सत्तारुढ गठबन्धनबाट बनेको देउवा नेतृत्वको सरकारलाई नेता नेपालले समर्थन गर्ने वा नगर्ने, विश्वासको मत दिने वा नदिने अन्योल रहेका बेला प्रचण्डले नेपाललाई भेटेका छन् ।
नेता नेपाल आफू गठबन्धनका सामूहिक बैठकमा सहभागी नभएपनि देउवा, प्रचण्ड लगायतसँग भएका छुट्टाछुट्टै बैठकमा सरकारलाई समर्थन गर्ने बताउँदै आएका छन् । यसअघि सिंहदरबारमा भएको गठबन्धनको बैठकमा नेता नेपालले प्रतिनिधिका रूपमा डा. विजय पौडेललाई पठाएका थिए ।
नेपाल प्रचण्डसँगै रमाइरहेका बेला एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने भोलि आईतबार स्थायी कमिटी बैठक र पर्सि सोमबार केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बैठकमा नेपाल पक्षलाई समेत निम्तो पठाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।