काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर १ जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको पाइएको छ ।
३ पटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको हो ।
गत सोमवार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनीयरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले खनाललाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन समेत गरेको छ । खनाल अवकाशको संघारमा रहेका छन् । करीब २ महिनापछि ५८ वर्ष उमेर हदको कारण उनले अवकाश लिने भएका छन् ।
सहसचिवबाट सचिव भई अवकाश पाउँदा पेन्सन सुविधामा फरक पर्छ । यसबाट राज्यको व्ययभार समेत केही बढ्छ । बढुवा सिफारिस समितिले पहिलो नम्बरमा गोपाल सिग्देल, दोस्रो नम्बरमा राजेन्द्रप्रसाद खनाल र तेस्रो नम्बरमा सुर्जकुमार वैद्यको नाम सिफारिस गरेको थियो ।
तर ओली सरकारले दोस्रो नम्बरमा सिफारिस गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिग्ेदलको नाम बढुवा सिफारिस समितिले ३ पटकसम्म बढुवाका लागि सिफारिस गरेको थियो । दोस्रोपटक बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सुशील तिवारी, दोस्रो नम्बरमा गोपाल सिग्देल तथा तेस्रो नम्बरमा राजेन्द्र खनाललाई सिफारिस गरेको थियो । सिफारिश समितिले पहिलोपटक सहसचिवबाट सचिवमा बढुवा गर्न पहिलो नम्बरमा प्रमिला बज्राचार्य, दोस्रो नम्बरमा सुशिलचन्द्र तिवारी र तेस्रो नम्बरमा गोपाल सिग्देलको नाम सिफारिस गरेको थियो ।
लोक सेवा आयोगको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठक बस्ने र समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य हुने निजामती सेवा ऐन २०४९ मा व्यवस्था गरिएको छ । बढुवा सिफारिश समितिले धमाधम रिक्त पदमा बढुवाका लागि सिफारिस गर्ने गरेको छ ।
बढुवा सिफारिस समितिले ३ पटकसम्म बढुवाका लागि सिफारिस गरे पनि बढुवा नगरिएका सिग्देलप्रति अन्याय भएको सिग्देलनिकट कर्मचारी बताउँछन् । सिग्देल हाल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सचिव पदमा कार्यरत रहेका छन् ।
सिग्देलनिकट एक कर्मचारीले भने, ‘यो भनेको उहाँप्रति अन्याय हो ।’ सरकारले पालो मिचेर बढुवा गर्दा उच्च कर्मचारीहरुमा कामभन्दा पनि चाकडी प्रणाली विकास हुने उनले बताएका छन् ।
पालो मिचर सचिवमा बढुवा गरेको यो पहिलो उदाहरण भने होइन । यसअघि पनि ओली नेतृत्व सरकारले पालो मिचेर सचिवमा बढुवा गरेको थियो । तत्कालीन वरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई सचिवमा बढुवा गर्न सिफारिस समितिले ५ पटकसम्म सिफारिश गरे पनि दुवाडीको बढुवा गरिएको थिएन । छैटौंपटकको सिफारिसमा मात्र दुवाडीको बढुवा गरिएको थियो ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फका वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा भएका कृष्णहरि पुस्कार र खगेन्द्रप्रसाद नेपाललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा खटाएको छ । प्रदेश सरकारका प्रमुख सचिवको सरुवा हुनेबित्तिकै पुस्कार र नेपाललाई प्रदेशमा खटाउने सरकारको तयारी रहेको छ ।
सहसचिवबाट सचिव पदमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंबाहिर गर्ने परम्परा रहेको छ । तर प्राविधिक सेवा तर्फका सचिवहरुको भने काठमाडौंबाहिर पद नमिल्ने नभएकाले पहिलो नियुक्त काठमाडांैमै हुने गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।