काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिका नाममा थुप्रै व्यक्तिलाई युद्धमा सामेल गराएर ज्यान फाल्न लगाए । अहिले तिनै सहिदका परिवारले रुनु परेको छ । तर सहिद परिवारका लागि प्रचण्डले केही गरिदिएका छैनन् ।
बरु राजनीतिमा स्थापित भएर जनप्रतिनिधि बनेका सहिद पत्नीमाथि प्रचण्डले क्रूर प्रहार गरेका छन् ।
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख (उपमेयर) कान्ति देवीले माओवादी पार्टी परित्याग नगरेको स्पष्टीकरण दिँदादिँदै पनि उनलाई पार्टीबाट कारवाही गरेर निष्कासन गरिएको छ ।
गत बैशाख महिनामा कान्ती देवीलाई नेकपा माओवादी केन्द्र रौतहट जिल्ला कमिटीका सचिव देवेन्द्र पटेलले पार्टी छाडेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।पटेलले सोधेको स्पष्टीकरणको वैशाख ६ गते जवाफ दिँदै कान्ती देवीले पार्टी नछाडेको स्पष्ट पारेकी थिइन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१(१) र २ अनुसार कार्य गरेको भन्दै ऐनको दफा ३२ अनुसार किन कारबाही नगर्ने भन्दै सचिव पटेलले कान्तीलाई स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणको जवाफमा उपमेयर कान्तीले जनआन्दोलनको समयदेखि नै घरबास र ज्यानको पर्वाह समेत नगरी भूमिगत रही आन्दोलनरत रहेको स्मरण गराउँदै आफूले पार्टी परित्याग नगरेको र आरोप निराधार रहेको बताएकी थिइन् ।
स्पष्टीकरणमा उनले लेखेकी छन्, ‘एउटा सहिद असहायको नाताले मेरो आत्मा रोएको छ । पार्टीले गरेको हरेक औपचारिक कार्यक्रममा सहभागी भएकी छु ।’
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका पूर्वमन्त्री प्रभू साहको निर्वाचन क्षेत्रभित्र पर्छ । आफ्नो क्षेत्रमा संघीय सांसद र मन्त्री आउँदा भेटघाट हुने गरेको कान्ती देवीले बताएकी छन् । प्रभू साहलाई भेटेको आरोपमा उनलाई कारवाही गरिएको थियो ।
स्पष्टीकरणमा लेखिएको छ, ‘कुनै संघीय सांसद वा मन्त्री आफ्नो कार्यक्षेत्रमा आउँदा त्यहाँ गएर आफ्नो सहिद परिवारको समस्या गाउँठाउँको विकासका बारेमा छलफल गर्दैमा त्यो पार्टी परित्याग हो भन्ने म केही भन्न सक्दैन । म कुनै अन्य पार्टी क्रियाकलापमा लागेको छैन भनी प्रतिवद्धता दिलाउन चाहन्छु ।’
कान्तीले आफ्ना पति माओवादी जनयुद्धमा रौतहट जिल्लाबाट पहिलो सहिद बनेका जनाएकी छन् । कान्ति असाध्यै गरीब परिवारकी सदस्य हुन्, जसले २०७४ सालको चुनावमा माओवादीका तर्फबाट उपमेयरमा जीत प्राप्त गरेकी थिइन् । तर उनलाई पार्टीबाट निष्कासन गर्न प्रचण्डले निर्वाचन आयोगमा पत्राचार गरेका थिए ।
पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादीले आयोगमा पत्र पठाएपछि निर्वाचन आयोगले कान्ती देवी सहितका जनप्रतिनिधिले दल त्याग गरेको सूचना प्रकाशित गरेको थियो ।
सहिदको अपमान हुने गरी प्रचण्डले कारवाही गरेपनि अदालतले कान्ति देवी लगायत सबै जनप्रतिनिधिको पद पुनःबहाली गरेको छ । सहिदपत्नी कान्तिले माओवादीका अध्यक्ष प्रचण्डबाट न्याय नपाए पनि अदालतबाट न्याय पाएकी छन् । प्रचण्डले सहिद परिवारमाथि अत्याचार गर्न थालेपछि आलोचना भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।