काठमाडौं - राष्ट्रिय सभालाई बौद्धिक र विचार प्रस्तुत गर्ने थलोको रूपमा लिइन्छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका र आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई दलहरूले राष्ट्रिय सभामा पठाउने गरेका छन् ।
तर, पछिल्लो समय बौद्धिक थलो मानिने राष्ट्रिय सभा प्रहसन र कविता सुनाउने थलोमा परिणत भएको छ । जसमा सत्तारुढ एमालेका केही सांसदले संसद्को गरिमा घटाएका हुन् ।
सोमबार मात्रै एमाले सांसद कोमल वलीले वाचन गरेको छेपारा र बाँदर कविताको अहिले सामाजिक सञ्जाल मात्र होइन, मिडियामा पनि चर्चा हुन थालेको छ ।
वलीले एमालेका शीर्ष नेता झलनाथ खनाल र माधवकुमार नेपालको नामै नलिई प्रतीकात्मक रूपमा बाँदर र छेपारो भनी कवितामा भनेकी थिइन् ।
एमालेमा किचलो ल्याएर पार्टीकै शीर्ष नेताले पार्टीलाई राम्ररी सञ्चालन गर्न नदिएको उनको आरोप थियो । राप्रपाबाट एमाले प्रवेश गर्नेवित्तिकै केपी ओलीले उनलाई राष्ट्रिय सभा सदस्य बनाएका थिए ।
तिनै चैते एमालेले पार्टीका शीर्ष नेतालाई लाञ्छनायुक्त अभिव्यक्ति राष्ट्रिय सभामा दिएपछि अहिले माधव नेपाल निकट एमालेहरू कोमल वलीसँग आगो भएका छन् ।
७० वर्ष इतिहास बोकेको पार्टीमा पाँच दशकसम्म राजनीति गरिसकेका, देश र पार्टी हाँकिसकेका नेतालाई कोमल वलीले अर्ति उपदेश दिन थालेपछि एमालेको हैसियत अहिले केपी ओलीले कहाँ पुर्याएका रहेछन् भन्दै सामाजिक सञ्जालमा आक्रोश र विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
कोमल वलीको हिजोको कविता वाचनलाई धेरैले सस्तो मनोरञ्जन भनी टिप्पणी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।