काठमाडौं - केही समयअघि एमाले सांसद कोमल वलीले राष्ट्रिय सभामा वाचन गरेको एउटा कविता निकै चर्चित थियो ।
कवितामा उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई ‘बाँदर प्रवृत्ति भएका नेता’ को संज्ञा दिएकी थिइन् ।
५० वर्षभन्दा बढी कम्युनिस्ट राजनीति गरेका खनाल र नेपाललाई भर्खर राप्रपाबाट आएकी वलीले अर्ति उपदेश थालेकोमा धेरैले आपत्ति जनाएका थिए । बाँदर प्रवृत्ति भनेर खनाल र नेपाल पक्षलाई आरोप लगाएको केही दिनभित्रै एमालेको केपी ओली पक्षले बाँदर जुलुस निकालेको छ ।
एमाले भ्रातृसंगठन युवा संघले मंगलबार राजधानीको सडकमा बाँदर जुलुस निकालेको थियो । एमाले नेता माधव नेपाल पक्षका सांसदलाई होच्याउन भन्दै निकालेको सो जुलुसले अहिले ओली पक्षलाई नै ब्याकफायर भएको छ ।
ओली पक्षीय युवा संघले माधव नेपाल पक्षको बाँदरे प्रवृत्ति देखाउनका लागि यस्तो आइडिया जसले निकाल्यो, उसलाई पछि अनुहार देखाउनै लाज भएको छ । सामाजिक सञ्जालदेखि मिडियामा त्यसको तस्बिर अहिले भाइरल बनेको छ । ओली प्रवृत्तिको गुणगान गाउनेले निकालेको यो बाँदर जुलुसपछि अहिले एमालेको चौतर्फी आलोचना भएको छ ।
जस्तो सोच र व्यवहार हो ठीक त्यसकै झल्को दिने गरी सडकमा हनुमान प्रवृत्तिका कार्यकर्तालाई उतारिएको भन्दै ओलीको आलोचना हुन थालेको छ ।
यसअघि युवा संघले माधव नेपालको पुत्ला जलाउने, शव जस्तो बनाएर जलाउनेलगायतका प्रदर्शन गरिसकेको छ। पुत्ला र शव जुलुसमा खासै त्यस्ता प्रतिक्रिया आएनन्। तर बाँदर जुलुस त्यस्तो भएन। अरुलाई बाँदर देखाउन आफै बाँदर बनेका थिए उनीहरु।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।