काठमाडौं – अझै पनि पुरानै नक्सा प्रचलनमा रहेको भन्दै राष्ट्रियसभा बैठकमा आपत्ति जनाइएको छ ।
सरकारले गत वर्ष जेठ ७ गते लिम्पियाधुरासहित नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी भएको १ वर्ष बितिसक्यो । तथापि धेरै ठाउँमा पुरानै नक्सा प्रयोग भइरहेको छ ।
नयाँ नक्सा प्रयोगमा अझै पनि बेवास्ता गरिएकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।
हालै निर्वाचित राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले नयाँ नक्सा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा अध्यक्षले आफूलाई शपथ खुवाएर दिएका सांसद पदको लोगोबाहेक संविधानको पुस्तिका, प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावलीमा पुरानै नक्सा रहेको उनले बताएका छन् ।
उनले भने, ‘दुर्भाग्य यहाँले मलाई दिनुभएको संविधानको पुस्तिका, डायरी र प्रतिनिधि सभाको नियमावलीमा पनि पुरानै नक्सा छ ।’
सरकारका अंगहरूलाई नयाँ नक्सा प्रयोग गर भनेर निर्देशन दिने निकायले यसरी पुरानै नक्सा अंकित दस्तावेजहरु प्रयोग गर्न मिल्ला र अध्यक्ष महोदय भन्दै उनले प्रश्न समेत गरेका छन् ।
आफूलाई दिइएको डायरीमा प्रदेशहरुको नाम समेत अंकमा रहेको उनले बताए । संसदको वेबपेज र कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतका वेबसाइटमा पनि पुरानै नक्सा अंकित संविधानको दस्तावेज रहेको उनले जनाएका छन् ।
उनले भने, ‘मैले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालयका वेबपेजहरूमा संविधानको दस्तावेज देखिन । भएकोमा पनि त्यही पुरानो नक्सा छ । यो त हाम्रो संविधानप्रति भद्दा मज्जाक होइन र ?’
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी ओली सरकारसँग प्रश्न गरे ।
ओली सरकारले कोरोना संक्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेको आरोप समेत उनले लगाएका छन् ।
अहिले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै उनले कोरोना विरुद्धको खोप खरिदमा पारदर्शिता कायम हुनुपर्ने माग गरेका छन् । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधि सभाले यसअघि प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।